अनुदान कटौती रोक्न सातै प्रदेशको माग

साझा कर्णाली | २०८३ कार्तिक १७ गते सोमवार

कात्तिक १६,
सुर्खेतः संघीयता कार्यान्वयनको करिब एक दशक बितिसक्दा पनि वित्तीय स्रोतको बाँडफाँट, अधिकारको प्रयोग र बजेट व्यवस्थापनमा देखिएका समस्या समाधान हुन नसकेको भन्दै प्रदेश सरकारहरूले संघीय सरकारसँग साझा माग अघि सारेका छन् । वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन र तीन तहका सरकारबीच स्रोत परिचालनमा समन्वय खोज्न सुर्खेतमा भेला भएका सुदूरपश्चिमबाहेकका ६ प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री र सचिवले यस्तो माग अघि सारेका हुन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको प्रदेश आर्थिक मामिला परिषद्को बैठकमा संविधानको मर्म र भावनाअनुसार संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय संघीयतालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । बैठकले वित्तीय स्रोतको न्यायोचित बाँडफाँट, प्रदेशको वित्तीय अधिकार र संघीय सरकारबाट प्राप्त हुने अनुदानमा देखिएका समस्या समाधानका लागि साझा प्रतिबद्धतासमेत अघि सारेको छ ।

बैठकमा सातै प्रदेशका आर्थिक मामिलामन्त्रीहरुले संघीय सरकारले प्रदेशलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान बीचैमा कटौती नगरी शतप्रतिशत हस्तान्तरण गर्न माग गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा बजेटमा विनियोजन भइसकेको अनुदानसमेत राजस्व संकलन घटेको भन्दै कटौती गर्ने प्रवृत्ति अन्त्य गर्न उनीहरुले माग गरेका हुन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार सम्पन्न बैठकले वित्तीय संघीयताको कार्यान्वयन, वित्तीय सुशासन र प्रदेशबीचको सहकार्यका विषयमा साझा प्रतिबद्धतापत्र जारी गर्दै संघीय सरकारसमक्ष विभिन्न माग अघि सारेको हो ।

साझा प्रतिबद्धतापत्रमा समानीकरण अनुदानको संवैधानिक सुनिश्चितता गर्न, सशर्त अनुदानको हिस्सा घटाएर समानीकरण अनुदान बढाउन तथा प्रदेशको एकल अधिकार क्षेत्रभित्र संघीय सरकारले स्थापना गरेका कार्यालय खारेज गरी प्रदेशलाई हस्तान्तरण गर्न माग गरिएको छ । प्रदेशको अधिकार क्षेत्रभित्रका आयोजनामा संघीय हस्तक्षेप रोक्नुपर्ने उनीहरूको भनाइ छ ।

त्यस्तै, मूल्य अभिवृद्धि कर ९भ्याट० र अन्तःशुल्कबाट प्राप्त राजस्व बाँडफाँटमा प्रदेश तथा स्थानीय तहको हिस्सा बढाउनुपर्ने माग गरिएको छ । नदीजन्य पदार्थ, वन र जलविद्युत्को रोयल्टी बाँडफाँटमा प्रभावित प्रदेशको अधिकार न्यायोचित रूपमा सुनिश्चित गर्नुपर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

प्रदेशहरूले ट्राफिक जरिवानाबाट संकलित शतप्रतिशत राजस्व प्रदेशले पाउने कानुनी व्यवस्था गर्न पनि माग गरेका छन् । सवारीसाधन दर्ता भएको प्रदेशमै सवारी कर दाखिला हुने र चालक अनुमतिपत्र नवीकरण गर्दा सेवा शुल्क कटाएर बाँकी राजस्व अनुमतिपत्र जारी गर्ने प्रदेशमा दाखिला हुने गरी प्रणाली अद्यावधिक गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ ।

प्रदेशको एकल अधिकार क्षेत्रभित्र संघीय सरकारले स्थापना गरेका डिभिजन तथा आयोजना कार्यालय तत्काल खारेज गरी प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने माग पनि गरिएको छ । संघबाट प्रदेशमा हस्तान्तरण भएका तर बजेट अभावमा अधुरा रहेका आयोजनाका लागि संघीय सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने उनीहरूको माग छ ।

यसैगरी, नेपाल प्रहरी र प्रदेश प्रहरी ऐनअनुसार प्रदेश प्रहरी समायोजन अविलम्ब गर्न, संघीय निजामती सेवा ऐन जारी गर्न तथा प्रादेशिक पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ति र वन क्षेत्र प्रयोगको स्वीकृति दिने अधिकार प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । प्रदेशका प्राथमिकताप्राप्त आयोजनामा वैदेशिक सहायता र आन्तरिक ऋण लिने प्रक्रिया पनि सरल र पारदर्शी बनाउनुपर्ने माग गरिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशको वास्तविक खर्च आवश्यकता, जनसांख्यिक अवस्था, मानव विकास सूचकांक र राजस्व क्षमताका आधारमा अनुदान वितरणको सूत्र परिमार्जन गर्नुपर्ने प्रदेशहरूको भनाइ छ । भौगोलिक तथा वातावरणीय विशिष्टतालाई समेत अनुदान वितरणको आधार बनाउनुपर्ने उनीहरूले जनाएका छन् । वित्तीय संघीयतासम्बन्धी कानुनलाई संघीयता कार्यान्वयनको करिब एक दशकको अनुभवका आधारमा परिमार्जन गरी तीन तहका सरकारबीच वित्तीय अधिकार र दायित्व स्पष्ट पार्नुपर्ने मागसमेत गरिएको छ ।

बैठकले प्रदेशहरूबीचको सहकार्य र साझेदारीलाई पनि प्राथमिकता दिएको छ । अन्तरप्रदेश व्यापार तथा लगानी प्रवर्द्धनका लागि वस्तु तथा सेवाको आवागमनमा लाग्ने दोहोरो कर, शुल्क र प्रशासनिक झन्झट हटाउने तथा प्रदेशका आर्थिक ऐनहरूमा सामञ्जस्यता कायम गर्ने प्रतिबद्धता जनाइएको छ ।

दुई वा सोभन्दा बढी प्रदेश भएर बग्ने साझा नदीबाट ढुंगा, गिट्टी र बालुवाको अनियन्त्रित दोहन रोक्न दिगो उपयोग नीति बनाउने र राजस्व बाँडफाँटका स्पष्ट मापदण्ड तय गर्ने सहमति भएको छ । बाढी, पहिरो, शीतलहर र आगलागीजस्ता विपद्का बेला अन्तरप्रदेश द्रुत प्रतिक्रिया टोली परिचालन गर्न संयुक्त विपद् व्यवस्थापन तथा कोषको व्यवस्था गर्ने विषयसमेत प्रतिबद्धतापत्रमा समेटिएको छ ।

त्यस्तै, आन्तरिक राजस्वको दायरा विस्तार, चुहावट नियन्त्रण र राजस्व बक्यौता असुली गर्दै प्रदेशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने, बेरुजु घटाउने र बजेट खर्च क्षमता बढाउने प्रतिबद्धता पनि गरिएको छ । सातै प्रदेशमा सवारीसाधनको भेहिकल फिटनेस टेस्टिङ सेन्टर स्थापना तथा सञ्चालनको पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने मागसमेत अघि सारिएको छ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले तीनै तहका सरकारबीच स्रोत परिचालन, बजेट व्यवस्थापन र वित्तीय जिम्मेवारीमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोज्नु बैठकको मुख्य उद्देश्य रहेको बताए । उनका अनुसार वित्तीय संघीयताको वर्तमान अवस्था, प्रदेशको राजस्व परिचालन क्षमता, खर्चको आवश्यकता, वित्तीय स्रोतको न्यायोचित वितरण, बजेट खर्च गर्ने क्षमता र नागरिकप्रतिको जवाफदेहिताका विषयमा छलफल भएको छ ।

बैठकमा प्रदेश सरकारहरुले अभ्यासमा ल्याएका असल अभ्यास र त्यसबाट प्राप्त सिकाइ आदानप्रदान गर्ने कार्यक्रमसमेत राखिएको थियो । संघीय शासन प्रणालीमा प्रदेश सरकारको वित्तीय अधिकार, स्रोतको उपलब्धता र खर्च गर्ने क्षमताबीच तादात्म्य मिलाउने तथा प्रदेशहरूले भोगिरहेका वित्तीय र बजेट व्यवस्थापनसम्बन्धी समस्याको साझा समाधान खोज्ने अपेक्षा गरिएको छ । बैठकबाट प्राप्त निष्कर्षलाई आगामी आर्थिक वर्षका लागि सातवटै प्रदेशका सरकारका नीति, कार्यक्रम तथा बजेट निर्माणमा समावेश गर्ने जनाइएको छ ।