बुद्धिचालमा मदन ओली र चाँदनी थापा प्रथम, राष्ट्रिय खेलकुदमा जाने टोली तयार

जैतुन अनलाइन | २०८३ असोज ३० गते शुक्रवार

डोल्पा : हिमाली जिल्ला डोल्पामा पहिलोपटक आयोजना गरिएको कर्णाली प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिता सम्पन्न भएको छ। आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उद्देश्यले सदरमुकाम दुनैस्थित होटल ब्लु सिप इनको सभाहलमा सञ्चालन गरिएको प्रतियोगिताबाट महिला तथा पुरुष खेलाडी छनोट भएका हुन्।

कर्णाली प्रदेशका मुगु र रुकुमपश्चिमबाहेक आठ जिल्लाका खेलाडी सहभागी प्रतियोगितामा पुरुषतर्फ सल्यानका मदन ओली प्रथम भएका छन्। हुम्लाका गगन शाही द्वितीय, दैलेखका मिनराज भट्टराई तृतीय, दैलेखकै शक्तिराम बुढा चौथो र सुर्खेतका विनय शाही पाँचौँ स्थान हासिल गर्न सफल भएका छन्।

पुरुषतर्फ वैकल्पिक खेलाडीका रूपमा कालिकोटका मुस्कान कार्की, दैलेखका वीरेन्द्रबहादुर शाही र हुम्लाका मिसन मल्ल छनोट भएका छन्।

त्यसैगरी, महिलातर्फ दैलेखकी चाँदनी थापा प्रथम भएकी छन्। दैलेखकै अतिथि थापा द्वितीय, सल्यानकी अस्मिता शाही तृतीय, दैलेखकी सदिक्षा बुढा चौथो र जाजरकोटकी आयुषा खड्का पाँचौँ स्थानमा रहन सफल भएका छन्। महिलातर्फ वैकल्पिक खेलाडीका रूपमा सुस्मिता शाही र महालक्ष्मी बस्नेत छनोट भएका छन्।

छनोट प्रतियोगिताबाट उत्कृष्ट स्थान हासिल गर्दै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूले आगामी मंसिरमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्नेछन्। छनोट भएका खेलाडीको विवरण कर्णाली प्रदेश बुद्धिचाल संघका अध्यक्ष कार्लमाक्स श्रेष्ठले जानकारी दिएका हुन्।

डोल्पामा पहिलोपटक प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता

डोल्पामा पहिलोपटक कर्णाली प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना हुनु जिल्लाको खेलकुद इतिहासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। भौगोलिक विकटताका कारण खेलकुदका अवसर सीमित रहेको जिल्लामा प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन हुनुले बुद्धिचाल खेलको विकास र स्थानीयस्तरमा खेलकुद गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा विभिन्न स्थान हासिल गर्दै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका महिला तथा पुरुष खेलाडीलाई जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

दुर्गम हिमाली जिल्लामा समेत प्रदेशस्तरीय खेलकुद गतिविधि सञ्चालन हुनुले स्थानीय खेलकुदको प्रवर्द्धनसँगै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर विस्तार गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।