

असोज २९,
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा सार्वजनिक विवरणअनुसार मन्त्रीहरुका नाममा घरजग्गा, सुनचाँदी, बैंक मौज्दात, सेयर तथा सवारीसाधनदेखि ऋणसम्म रहेको देखिएको छ । विवरणमा केही मन्त्रीका नाममा विभिन्न ठाउँमा घरजग्गा र कम्पनीमा सेयर रहेको उल्लेख छ भने केहीले ऋणसमेत तिर्न बाँकी रहेको जनाएका छन् ।
सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रीहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा कार्की, जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाल, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोका, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का, सामाजिक विकासमन्त्री जितबहादुर मल्ल र आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई छन् । मुख्यमन्त्री मंगलबहादुर शाहीले भने केही दिनअघि नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन् ।
सार्वजनिक विवरणअनुसार आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईसँग सबैभन्दा धेरै विविध प्रकारका सम्पत्ति रहेको देखिन्छ । उनीसँग जुम्ला र बर्दियामा गरी ३१ ठाउँमा जग्गाजमिन रहेको उल्लेख छ । जुम्लाको कनकासुन्दरी–६ मा दुईवटा पुर्ख्यौली घर छन् भने बुबाको नाममा गाउँका विभिन्न २८ ठाउँमा पुर्ख्यौली जग्गा रहेको विवरणमा उल्लेख छ । बर्दियाको राजापुर नगरपालिका–२ मा पनि तीन ठाउँमा जग्गा छ ।
पछाईसँग २० तोला सुन र ५० तोला चाँदी छ । उनी र उनकी श्रीमती तिला आचार्यको नाममा विभिन्न बैंकमा १२ लाख १५ हजार रुपैयाँ मौज्दात रहेको तथा नागरिक लगानी कोषमा दुवैको नाममा गरी ९ लाख १३ हजार ६६४ रुपैयाँ जम्मा भएको उल्लेख छ । उनीसँग २८ वटा लघुवित्त तथा कम्पनीमा सेयर रहेको विवरणमा जनाइएको छ । उनले केही सेयर सेयर कारोबारबाट र केही तलबबाट खरिद गरेको बताएका छन् ।
उनको नाममा २ लाख ४० हजार रुपैयाँ मूल्यको बजाज मोटरसाइकल र श्रीमतीको नाममा २ लाख ८५ हजार रुपैयाँ मूल्यको स्कुटर छ । कृषितर्फ जुम्लामा २०० बोट स्याउ, १५ बोट ओखर र एउटा गाई रहेको उल्लेख छ । दुई थान एप्पल मोबाइल र एउटा ल्यापटप पनि सम्पत्ति विवरणमा समावेश छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा कार्कीको हुम्लाको सर्केगाड–२ मा घर छ । सुर्खेतमा एक ठाउँ र हुम्लामा दुई ठाउँमा जग्गा रहेको उनले उल्लेख गरेकी छन् । उक्त सम्पत्ति पैतृक सम्पत्ति, व्यवसाय र ऋणबाट जोडेको विवरणमा जनाइएको छ । उनीसँग १० तोला सुन, ११० तोला चाँदीका माला तथा तुथो, मुगा र मोतीका २५ तोला माला छन् । यी गहना पैतृक सम्पत्ति तथा दाइजोबाट प्राप्त भएको उल्लेख छ ।
उनले दुई लाख रुपैयाँ नगद रहेको जनाएकी छन् । सिटिजन्स र सांग्रिला बैंकमा गरी १५ लाख २० हजार रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख छ । उक्त रकम श्रीमान्को मृत्युपछि प्राप्त दुर्घटना बिमा र पारिश्रमिकबाट जम्मा भएको उनले जनाएकी छन् । पारिश्रमिकबाट खरिद गरेको सात लाख रुपैयाँ मूल्यको एउटा मोटरसाइकल पनि उनको नाममा छ ।
सामाजिक विकासमन्त्री जितबहादुर मल्लको मुगुको छायानाथ रारा नगरपालिका–१ मा घर रहेको छ । उनको नाममा व्यवसायबाट जोडेको चारवटा घर रहेको विवरणमा उल्लेख छ । श्रीमती राधिकाको नाममा छायानाथ रारा नगरपालिकाका विभिन्न वडामा १० ठाउँमा जग्गाजमिन छ । जग्गा खरिदका लागि केही ऋण लिएको र केही सम्पत्ति नोकरी तथा व्यवसायबाट जोडेको जनाइएको छ ।
मल्लसँग चार तोला सुन र पाँच तोला चाँदी छ । उनको बैंक खातामा तीन लाख रुपैयाँ मौज्दात रहेको छ भने श्रीमतीको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ६३ लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख छ । उनीसँग एक लाख ९० हजार रुपैयाँ मूल्यको मोबाइल फोन, एक लाख रुपैयाँको ल्यापटप र एक लाख ८० हजार रुपैयाँको ट्याबलेट पनि छन् । यी सामग्री वैदेशिक रोजगारीमा रहेका व्यक्तिले उपहार दिएको उनले जनाएका छन् ।
जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमालसँग हुम्लाको अदानचुली–५ मा एउटा पुर्ख्यौली घर छ । सुर्खेतको वीरेन्द्रनगर–५ मा व्यवसायबाट खरिद गरेको जग्गा रहेको विवरणमा उल्लेख छ । उनीसँग पैतृक सम्पत्तिका रूपमा दुई तोला सुन र ४० तोला चाँदी छ । चारवटा बैंकमा गरी दुई लाख ७० हजार रुपैयाँ मौज्दात रहेको उनले जनाएका छन् । त्यसमध्ये दुई लाख ५० हजार रुपैयाँ वैदेशिक रोजगारीबाट प्राप्त भएको र बाँकी रकम तलबबाट जम्मा गरेको उल्लेख छ । विभिन्न व्यक्तिबाट लिएको आठ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको विवरणमा जनाइएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काको नाममा अंशबन्डाबाट प्राप्त चार कित्ता जग्गा रहेको छ । दाङमा १२० वर्गमिटर क्षेत्रफलको तीन लाख ६० हजार रुपैयाँ मूल्यको घडेरी पनि अंशबन्डाबाटै प्राप्त गरेको उनले उल्लेख गरेकी छन् । बैंकमा बुबाबाट प्राप्त पाँच लाख रुपैयाँ रहेको तथा तलब, भत्ता र जग्गा बिक्रीबाट चार लाख ४६ हजार रुपैयाँ जम्मा गरेको विवरणमा जनाइएको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाको रुकुम पश्चिमको मुसीकोट–१३ मा कच्ची पुर्ख्यौली घर छ । उनको नाममा ११ कित्ता पुर्ख्यौली जग्गा रहेको विवरणमा उल्लेख छ । उनीसँग दुई तोला सुन, तीन लाख रुपैयाँ बराबरको सेयर र बैंकमा ९० हजार रुपैयाँ मौज्दात छ । आफन्तबाट लिएको १२ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको उनले जनाएकी छन् ।
मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणमा घरजग्गा, नगद, बैंक मौज्दात, सेयर तथा ऋणलगायतका विवरण समेटिएका छन् । यद्यपि, यी विवरणका आधारमा मात्रै मन्त्रीहरूको वास्तविक कुल सम्पत्ति वा उनीहरूमध्ये को सबैभन्दा धनी भन्ने अन्तिम निष्कर्ष निकाल्न सकिँदैन । त्यसका लागि सम्पत्तिको वर्तमान बजार मूल्य, दायित्व, संयुक्त स्वामित्व र विवरणमा समेटिएका सम्पत्तिको स्वामित्व तथा मूल्यांकनको स्पष्टता आवश्यक हुन्छ ।