

असोज १०,
सुर्खेतः लगातारको वर्षासँगै पहिरो खस्दा कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडकखण्ड अवरुद्ध भएका छन् । मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, कर्णाली करिडोर, राप्ती राजमार्ग तथा अन्य सडकमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्गको चाइना बगरदेखि सिस्नेखोलातर्फको भिरमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक खुलाउन डिभिजन सडक कार्यालय चौरजहारीअन्तर्गतको मेसिन परिचालन गरिएको कार्यालय प्रमुख खुमबहादुर भण्डारीले बताए । उनका अनुसार करिब दुई घण्टामा सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरोका कारण दैलेख–कालिकोट सडकखण्डमा समेत यातायात प्रभावित भएको प्रहरीले जनाएको छ ।
कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड–खच्चा क्षेत्रमा पहिरो गएपछि सडक बन्द भएको छ । त्यस्तै, मुगुको नाग्मा–गमगढी सडकखण्डअन्तर्गत रारा जाने मार्गको झारीखोलामा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । जुम्लादेखि मुगुसम्मको सडकखण्डमा समेत पहिरोका कारण आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।
जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरस्थित छेडाथलह भित्री सडकखण्डमा माथिबाट ढुंगा र लेदोसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–५ सारखोलामा समेत पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
यसैबीच, लगातारको वर्षाका कारण कर्णालीका पहाडी तथा हिमाली जिल्लाका सडकमा जोखिम बढेपछि अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार वर्षाको जोखिम कम नभएसम्म पहाडी तथा हिमाली जिल्लाका सडकमा दुवैतर्फी यातायात सञ्चालनमा रोक लगाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले बताएका छन् ।
उनका अनुसार कोहलपुर–सुर्खेत रत्न राजमार्गमा भने सडकको अवस्था हेरेर अत्यावश्यक सवारी सञ्चालन गर्न दिइनेछ । कर्णालीका १० वटै जिल्लामा वर्षा भइरहेको र केही नदी तथा खोलाको सतह बढेको प्रहरीले जनाएको छ ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित सडक कार्यालय तथा अन्य निकायले मेसिन परिचालन गरी काम गरिरहेका छन् । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।