

असोज १०,
डोल्पाः अविरल वर्षाका क्रममा भिरबाट खसेको ढुंगा लागेर डोल्पामा एक जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१, खलवलगाडाका मनरूप केसीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शुक्रबार राति करिब पौने १० बजे बगरहेराल खोलामा त्रिपालले बनाइएको गोठमा सुतिरहेका बेला भिरबाट ढुंगा खसेर केसीलाई लागेको थियो । ढुंगा लागेर टाउको र छातीमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि स्वास्थ्य चौकी लिकुतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीसँगै गोठमा सुतिरहेका उनका भाइ चन्द्ररुप केसीको ढाडमा समेत चोट लागेको छ । उनको अवस्था सामान्य रहेको र घरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे शनिबार बिहान करिब साढे ५ बजे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक पृथ्वीसिंह ठकुरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले मृतकको शव घरमा ल्याएर राखिएको जनाएको छ ।