

असोज १०,
सुर्खेतः भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कर्णाली प्रदेशमा ६ हजारभन्दा बढी प्रहरी जनशक्तिलाई विपत् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ । सडक अवरोध हटाउन विभिन्न स्थानमा उपकरणसहितका टोली परिचालनको तयारी गरिएको छ भने जोखिमयुक्त बस्तीका नागरिकलाई पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा सार्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
जल तथा मौसम विज्ञान विभागले ९ देखि ११ असोजसम्म कर्णालीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विशेष मौसमी बुलेटिन जारी गरेपछि प्रदेश सरकारले यस्तो तयारी गरेको हो । विभागका अनुसार एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने सम्भावना छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठोरका अनुसार यसअघि मौसमजन्य विपत्का लागि १६ सयभन्दा बढी प्रहरी जनशक्ति स्ट्यान्डबाई राख्ने गरिएकोमा अहिले सम्भावित जोखिमलाई ध्यानमा राखेर ६ हजारभन्दा बढी जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
‘मौसमजन्य विपत्सँग लड्न उद्धार सामग्रीसहितका प्रहरी युनिटहरू तयारी अवस्थामा छन् । सकभर विपत् नआओस् भन्ने हो, आइहाले पनि त्यसको क्षति न्यूनीकरण गर्न प्रहरी डटेर लाग्छ,’ राठोरले भने ।
उनका अनुसार मौसममा सुधार नआएसम्म अति आवश्यकबाहेक प्रहरीलाई बिदामा नबस्न भनिएको छ । आवश्यकता अनुसार सशस्त्र प्रहरी र नेपाली सेनाका तालिम प्राप्त जनशक्तिसमेत विपत् प्रतिकार्यमा परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । विपत्को प्रकृतिअनुसार उद्धार तथा राहतका लागि नेपाली सेनाको पश्चिम एयर बेस सुर्खेतमा हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको छ ।
सडक अवरोध हटाउन पाँच स्टेसन
भारी वर्षापछि बाढी, पहिरो र सडक कटानका कारण प्रदेश राजधानीसँगको यातायात सम्पर्क विच्छेद हुन नदिन सडक डिभिजन कार्यालय सुर्खेतले पाँच स्थानबाट २४सै घण्टा सडकको निगरानी गर्ने भएको छ ।
सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी इन्जिनियर रुपेश कठायतका अनुसार सम्भावित अवरोध तत्काल हटाउन लोडर, ब्याकहो लोडरसहितको जनशक्ति विभिन्न स्टेसनमा तयारी अवस्थामा राखिएको छ ।
‘कर्णालीका विभिन्न सडकमा वर्षाका कारण आउन सक्ने अवरोधलाई क्वीक रेस्पोन्स गर्न पाँचवटा स्टेसन तोकेर लोडर, ब्याकहो लोडरसहितको जनशक्ति स्ट्यान्डबाई राखेका छौँ,’ उनले भने, ‘कर्णालीका प्रमुख र तिनका सहायक राजमार्ग तथा स्थानीय तह जोड्ने रणनीतिक महत्वका सडक अवरुद्ध हुन नदिन उपकरणसहितको टोली तयारी अवस्थामा रहन्छ ।’
प्रदेश राजधानी सुर्खेत प्रवेश गर्ने प्रमुख सडकहरूमा सम्भावित अवरोध तत्काल हटाउन बोटेचौरमा लोडर, ब्याकहो लोडरलगायत उपकरण राखिएको छ । यहाँबाट मदन भण्डारी राजमार्ग, छिन्चु–जाजरकोट तथा भेरी करिडोर र कोहलपुर–सुर्खेत रत्न राजमार्गतर्फ हुन सक्ने अवरोधमा टोली परिचालन गर्न सकिनेछ ।
कर्णाली राजमार्गतर्फ तल्लो डुंगेश्वर र राकम कर्णालीमा बाढी तथा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको छ । सुर्खेत–दैलेख सडकखण्डमा दैलेखको गुराँस गाउँपालिकास्थित तालपोखरीमा अवरोध हटाउने स्टेसन राखिएको छ ।
मध्यपहाडी राजमार्गअन्तर्गत महाबुतर्फ आउन सक्ने अवरोध हटाउन दैलेख बजारमा पनि उपकरणसहितको स्टेसन राखिएको कठायतले बताए । उनका अनुसार सडक डिभिजन रुकुम पश्चिम र जुम्लाले समेत आ–आफ्नो क्षेत्रका जोखिमयुक्त सडकको निगरानी गर्नेछन् ।
जोखिमयुक्त बस्तीमा पूर्वसूचना
प्रदेश सरकारले बाढी, पहिरो र गेग्रान बहावको जोखिममा रहेका बस्तीमा पूर्वतयारी बढाउन सम्बन्धित जिल्ला प्रशासन, स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।
प्रदेश सरकारले जोखिमयुक्त क्षेत्रमा रहेका गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सहयोग आवश्यक पर्ने व्यक्तिको पहिचान गरी विपत्अघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक पहल गर्न भनेको छ ।
विशेषगरी आकस्मिक बाढी आउन सक्ने खोला, खहरे तथा नदी किनारका बस्ती र पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन आग्रह गरिएको छ ।
नदी तथा खोलाको पानीको सतह असामान्य रूपमा बढ्दै गएको, पानी धमिलो भएको, ढुंगा वा रुख बगाउँदै आएको वा असामान्य आवाज सुनिएमा तत्काल अग्लो तथा सुरक्षित स्थानतर्फ जान प्रदेश सरकारले आग्रह गरेको छ ।
प्रदेश सरकारले अत्यधिक वर्षा भइरहेको रातको समयमा जोखिमयुक्त सडकमा सकेसम्म यात्रा नगर्नसमेत आग्रह गरेको छ । यात्रा गर्नैपर्ने भए सडकको अवस्था तथा स्थानीय प्रशासन र यातायातसम्बन्धी सूचना बुझेर मात्रै यात्रा गर्न भनिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी सुरेन्द्र शाहीका अनुसार सम्बन्धित जिल्ला, स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई आमसर्वसाधारणलाई सुसूचित गराई आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
‘सडकमा पहिरो, ढुंगा खस्ने, सडक भासिने वा पानीको बहाव बढेको अवस्था देखिएमा जोखिम मोलेर बाटो पार नगर्न अनुरोध गरिएको छ,’ उनले भने, ‘सुरक्षित स्थानमा रोकिने र सम्बन्धित निकायलाई जानकारी गराउने । सम्बन्धित निकायलाई जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एस्क्याभेटर, लोडरलगायत आवश्यक उपकरण तथा साधन तयारी अवस्थामा राख्न भनिएको छ ।’
उनका अनुसार जिल्ला तथा स्थानीय विपत् व्यवस्थापन समिति, वडा कार्यालय, आपत्कालीन कार्य सञ्चालन केन्द्र तथा सुरक्षा निकायबाट जारी हुने निर्देशन सबैले पालना गर्नुपर्नेछ ।
तीन दिन वर्षाको जोखिम
जल तथा मौसम विज्ञान विभागले ९ देखि ११ असोजसम्म कर्णालीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएको छ । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
यसबाट बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले प्रदेश सरकारले सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
प्रदेश सरकारले विपत्मा परेका वा आफू असुरक्षित भएको महसुस गरेका नागरिकलाई तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ । वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको ११५५ मा सम्पर्क गर्न सकिनेछ ।
त्यस्तै, विपत्को समयमा सहयोग आवश्यक परेमा १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने प्रदेश सरकारले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा लिनसमेत प्रदेश सरकारले आग्रह गरेको छ ।