प्रधानमन्त्री वालेनको प्रश्नः युद्धका सामग्री ७२ घण्टामा पुग्ने विश्वमा किसानले मल र इन्धन किन पाउँदैनन्

साझा कर्णाली | २०८३ असोज ९ गते शुक्रवार


असोज १०,
काठमाडौंः प्रधानमन्त्री बालेन्द्र शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाउँदै युद्धका सामग्री सहजै सीमापार पुग्ने तर किसानले पैसा तिर्न तयार हुँदासमेत मल र इन्धन पाउन नसक्ने अवस्था रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विश्वको आपूर्ति प्रणालीले मानवीय आवश्यकता र खाद्य सुरक्षालाई प्राथमिकता दिन नसकेको बताए ।

उनले युद्धका लागि आवश्यक सामग्रीको आपूर्ति तीव्र र प्रभावकारी भए पनि किसानका लागि आवश्यक मल तथा इन्धनको आपूर्ति प्रणाली कमजोर रहेको बताए । ‘हामीले युद्धका लागि निर्दोष ढुवानी प्रणाली र खानाका लागि अस्तव्यस्त ढुवानी प्रणाली भएको विश्व बनाएका छौँ’, उनले भने ।

प्रधानमन्त्री शाहले ७२ घण्टाभित्र हतियार संसारको जुनसुकै ठाउँमा पुर्‍याउन सक्ने विश्वले किसानलाई आवश्यक सामग्री उपलब्ध गराउन नसक्नुको कुनै बहाना नहुने बताए ।

उनले विश्वव्यापी आपूर्ति प्रणालीलाई मानवीय आवश्यकता र खाद्य सुरक्षासँग जोड्दै किसानले आवश्यक सामग्री सहज रूपमा पाउने व्यवस्था हुनुपर्नेमा जोड दिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको जलवायु न्यायको मुद्दासमेत उठाए । उनले भोटेकोसी र त्रिशूलीमा आएको बाढीबाट नेपालले भोगेको क्षति तथा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

भोटेकोसी र त्रिशूलीमा आएको बाढीमा तत्काल सहयोगका लागि भारत र चीनलाई धन्यवाद दिँदै शाहले भोटेकोसीको बाढीलाई ‘हिमनदी सुनामी’को संज्ञा दिए । त्यसको प्रभाव नेपालसँगै चीन र भारतमा समेत परेको उनले बताए ।

प्रधानमन्त्री शाहले जलवायु संकटलाई ‘भूराजनीतिक दोष’को विषय बनाउन नहुने धारणा राख्दै हिन्दुकुश हिमालय क्षेत्रमा करिब दुई अर्ब मानिसको जीवन जोडिएको उल्लेख गरे । उनले हिमाली क्षेत्रको जलवायु मुद्दामा नेपाल, चीन र भारतबीच सहकार्यको प्रस्तावसमेत गरे ।

बाढीका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबरको क्षति भएको उल्लेख गर्दै उनले यसलाई मानवीय संकट मात्रै नभई विकास संकटसमेत भएको बताए । जलवायु वित्तमा अनावश्यक ढिलाइ नगर्न आग्रह गर्दै उनले भने, ‘घर जल्दा १५ वटा फारम भरिँदैन ।’

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले केही समय नेपाली भाषामा समेत बोले । उनले नेपालको सांस्कृतिक तथा आध्यात्मिक पहिचानसँग जोडिएका पशुपतिनाथ र बुद्धको प्रसंगसमेत उल्लेख गरे ।