

श्रावण १३,
सुर्खेतः विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका, लामो समय शिक्षण पेसामा बिताएका, जनयुद्धका क्रममा भूमिगत जीवन व्यतीत गरेका र शान्ति प्रक्रियापछि संसदीय राजनीतिमा स्थापित भएका मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका छन् । संसदीय दलको नेतृत्व सम्हालेको पाँच महिनामै प्रदेश सरकारको नेतृत्वमा पुगेका शाहीले करिब चार दशक लामो राजनीतिक यात्रापछि प्रदेशको कार्यकारी नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघि मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।
शाहीलाई आफ्नै दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ र सत्ता साझेदार नेकपा एमालेका १० गरी २४ प्रदेशसभा सदस्यको समर्थन प्राप्त छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २० सांसदको समर्थन आवश्यक पर्छ । स्पष्ट बहुमतसहित सरकारको नेतृत्वमा पुगेका शाहीले अब नयाँ मन्त्रिपरिषद् गठन, बजेट कार्यान्वयन र प्रदेशको विकासलाई गति दिनुपर्ने जिम्मेवारी पाएका छन् ।
संसदीय राजनीतिमा भने शाहीको यात्रा धेरै लामो छैन । २०७९ सालको प्रदेशसभा निर्वाचनमा मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट पहिलोपटक निर्वाचित भएका उनी तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री बनेका थिए । मन्त्रीको जिम्मेवारी सम्हालेको करिब दुई वर्ष र प्रदेशसभामा प्रवेश गरेको चार वर्षमै उनी मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेका छन् ।
शाही मुख्यमन्त्री बन्ने बाटो भने दलभित्रको नेतृत्व परिवर्तनपछि खुलेको हो। केन्द्रमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि त्यसको प्रभाव कर्णालीको राजनीतिमा पनि परेको थियो । एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै तत्कालीन संसदीय दलका नेता राजकुमार शर्माले गत मंसिर १७ गते दल नेताबाट राजीनामा दिएका थिए । त्यसपछि केही समय नेतृत्वविहीन बनेको संसदीय दलले माघ ३ गते बसेको बैठकबाट शाहीलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको थियो । दलको नेतृत्व सम्हालेको पाँच महिनामै उनी प्रदेश सरकारको नेतृत्वमा पुगेका छन् ।
२०२५ साल भदौ १६ गते मुगुको सोरु गाउँपालिका–६ सोरुकोटमा जन्मिएका शाहीको बाल्यकाल दुर्गम हिमाली गाउँमै बित्यो । सामान्य परिवारमा हुर्किएका उनले गाउँकै सोरुकोट प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए । त्यसपछि जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयबाट २०४४ सालमा एसएलसी उत्तीर्ण गरे ।
उच्च शिक्षाका लागि काठमाडौं पुगेपछि उनले नेपाल ल क्याम्पसमा आईएलसम्म अध्ययन गरे । विद्यार्थी जीवनमै उनी तत्कालीन नेकपा (माले) निकट अनेरास्ववियु (पाँचौँ) मा आबद्ध भए । २०४५ सालको विद्यार्थी सम्मेलनमा सहभागी भएपछि उनी संगठित रुपमा विद्यार्थी राजनीतिमा सक्रिय बनेका थिए । यही समयदेखि उनले राजनीतिक गतिविधिलाई आफ्नो जीवनसँग जोड्न थाले ।
अध्ययन पूरा गरी मुगु फर्किएका शाहीले शिक्षण पेसा रोजे । उनले जिल्लाका १६ वटा विद्यालयमा करिब १३ वर्षसम्म अध्यापन गरे । शिक्षणसँगै शिक्षक संगठन र पार्टी गतिविधिमा पनि उनी उत्तिकै सक्रिय रहे ।
२०५६ सालको प्रतिनिधिसभा निर्वाचनपछि उत्पन्न राजनीतिक विवादका क्रममा उनी हिरासतमा समेत परे । त्यस घटनाले उनको राजनीतिक जीवनमा ठूलो मोड ल्यायो । त्यसपछि २०५८ सालमा उनले शिक्षकको स्थायी जागिर छाडेर माओवादी जनयुद्धमा पूर्णकालीन रुपमा सहभागी हुने निर्णय गरे ।
जनयुद्धका कठिन अनुभव
जनयुद्धका क्रममा २०५९ सालमा उनी माओवादी जिल्ला कमिटी सदस्य बने । त्यस अवधिमा उनले संगठन विस्तार, राजनीतिक परिचालन र विभिन्न जिम्मेवारी सम्हाले । युद्धका क्रममा डोल्पाको माझफाल घटनामा आफ्ना सहयात्री गुमाउनुका साथै पटक–पटक सुरक्षाकर्मीको घेराबाट जोगिएको अनुभव उनले सार्वजनिक कार्यक्रममा सुनाउने गरेका छन् । त्यही अनुभवलाई स्मरण गर्दै उनले आफ्नो जीवनलाई बेलाबेला नाफाको जिन्दगी भन्ने गरेका छन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा शाहीले मुगु जिल्लाको पार्टी जिम्मेवारी पाए । त्यसको एक वर्षपछि २०६५ सालमा उनी जिल्ला इन्चार्ज बने। हाल उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य छन् ।
२०७० सालको संविधानसभा निर्वाचन बहिष्कार गर्ने निर्णयसँगै उनी मोहन वैद्य नेतृत्वको समूहमा आबद्ध भएका थिए । त्यस क्रममा उनी १८ दिन हिरासतमा बसे । पछि २०७१ सालमा पुनः माओवादीको मूलधारमा फर्किएर संगठन निर्माणमा सक्रिय भए ।
लामो समय संगठनमै सीमित रहेका शाहीले २०७९ सालको प्रदेशसभा निर्वाचनमा पहिलोपटक जनप्रतिनिधिका रूपमा चुनाव लडे र मुगु प्रदेशसभा–२ बाट निर्वाचित भए । त्यसपछि उनी प्रदेश सरकारमा मन्त्री बने र अहिले मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेका छन् ।
चार दशक लामो राजनीतिक संघर्ष, शिक्षण अनुभव, भूमिगत आन्दोलन र संसदीय अभ्यासपछि प्रदेश सरकारको नेतृत्वमा पुगेका शाहीसामु चुनौती भने कम छैन । बजेट कार्यान्वयन कमजोर रहेको, विकास आयोजना सुस्त गतिमा अघि बढिरहेको, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रमा समस्या कायमै रहेको तथा रोजगारी सिर्जनादेखि सुशासनसम्म जनअपेक्षा बढिरहेका बेला उनले सरकारको नेतृत्व सम्हालेका छन् ।
राजनीतिक रूपमा लामो संघर्ष गरेर मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेका शाही अब आफ्ना अनुभवलाई कर्णालीको विकास र सुशासनमा कसरी रूपान्तरण गर्छन् भन्ने विषय नै उनको कार्यकालको मुख्य परीक्षाका रुपमा हेरिएको छ ।