कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाही नियुक्त, सपथ भोली

साझा कर्णाली | २०८३ साउन १२ गते मङ्गलवार


श्रावण १२,
सुर्खेत: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मंगलबार कर्णालीको पाँचौं मुख्यमन्त्रीको रूपमा नियुक्त गरेका हुन् । शाहीले नेकपा १४ र एमालेको १० सांसदको समर्थनसहित मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि मंगलबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए । संविधानको धारा १६८ (२) अनुसार प्रदेश जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेका थिए ।
शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन माओवादी र नेपाली कांग्रेसबीच भएको लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट विजयी भएका थिए । उनले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री भएर काम गरिसकेका छन् । नवनियुक्त मुख्यमन्त्री शाहीको पद तथा गोपनियताको शपथग्रहण बुधबार हुने प्रदेश प्रमुखको कार्यालयकी सूचना अधिकारी मनमाया काउचाले जानकारी दिएकी छन् ।
यसअघि कर्णालीमा कालीकोटका महेन्द्रबहादुर शाही, हुम्लाका जीवनबहादुर शाही, रुकुमपश्चिमका राजकुमार शर्मा र सुर्खेतका यामलाल कँडेल मुख्यमन्त्री बनिसकेका छन् ।