

असार २१,
डाेल्पा: डाेल्पाकाे जगदुल्ला गाउँपालिका वडा नं. ५ मा पर्ने गैरीगाउँ खाेलामा आएकाे बाढी पहिराेबाट घाइते ४४ बर्षिया रेउली बि.क लाई नेपाली सेनाकाे हेलिकप्टरबाट उद्वार गरिएको छ।
आइतबार बिहान करिब साढे १ बजे तिर सुतिरहेको अवस्था गैरीगाउँ खाेलामा आएकाे बाढीपहिरोमा परि गम्भीर घाइते भएकी बिकलाई थप उपचारको लागि गृह मन्त्रालयकाे समन्वयमा नेपाली सेनाकाे हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको डाेल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिएकी छिन। बाढीबाट एक जनाकाे मृत्यु भैसकेको र ५ जनाकाे अवस्था सामान्य रहेकाेले नजिकैका स्वास्थ्य चाैकीमा उपचार भैरहेको प्रजिअ ढकालले बताइन् ।
गैरीगाउँ खाेला बाढीबाट के कति क्षति भएकाे भन्ने बारे विवरण संकलन भैरहेको र सबै तहका सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि , स्थानीय बासिन्दाकाे सहयाेगमा पुरिएका घरबाट सामाग्री निकाल्ने कार्य भैरहेको जनाइएको छ। उक्त क्षेत्रका बाढीपीडितकाे लागि राहत सामाग्री वितरण तथा संकलन कार्य पनि भैरहेको छ। पुस्ताैं पछि एक्कासी बाढी आएर बस्ती नै खाेलामा परिणत हुदा स्थानीय तह शाेकमा डुबेको छ भने स्थानीय बासिन्दामा त्रास फैलिएको छ।
गैरीगाउँ बाढीपहिरोकाे क्षति विवरण अवलोकन, राहत तथा उद्वार कार्यकाे लागि जिल्ला सुरक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालकाे नेतृत्वमा सराेकारवाला टिम आइतबार बिहानै सदरमुकाम दुनैबाट बाढी पहिराे क्षेत्र जगदुल्ला पुगेको छ। रातिकाे समयमा ठुलाे बाढी एक्कासी आउदा ठुलाे धनजनकाे क्षति भएकाे छ। याे दुखद घडीमा उद्वार तथा राहत कार्यकाे लागि सहयाेग गर्न सबै निकायलाई अनुरोध गरिएको छ।