

असार २०,
सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरास्थित कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना भएको तीन दिन बितिसक्दा पनि बेपत्ता चार जनाको अवस्था अझै अज्ञात छ। वर्षायामका कारण कर्णाली नदीमा बढेको पानीको सतह, तीव्र बहाव र धमिलो पानीले खोजी कार्य प्रभावित बनेपछि सुरक्षा निकायले अत्याधुनिक उपकरणसहित खोज अभियानलाई निरन्तरता दिएको छ।
प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै नदीको बहाव अत्यधिक भएकाले गोताखोरलाई नदीभित्र खोजी गर्न कठिन भइरहेको बताए। सडकबाट नदीसम्म पुग्ने भिरालो र जोखिमपूर्ण भूगोलले समेत खोज तथा उद्धार कार्य थप जटिल बनाएको उनको भनाइ छ।
उनका अनुसार चुनौतीपूर्ण अवस्थाका बाबजुद सम्भावित स्थानहरूमा गोताखोर परिचालन गरिएको छ भने नदी किनारमा प्रहरी र स्थानीयको सहकार्यमा खोजी जारी राखिएको छ। आवश्यक परे थप प्रविधिको प्रयोग गर्दै खोज अभियानलाई अझ प्रभावकारी बनाइने उनले बताए ।
ड्रोन, सोनार क्यामेरा र हेलिकप्टरको प्रयोग
बेपत्ताको खोजीमा सशस्त्र प्रहरीका गोताखोर टोली, ड्रोन क्यामेरा, विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ल्याइएको सोनार क्यामेरा र म्याग्नेटजस्ता उपकरण प्रयोग गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई निगरानीसमेत भइरहेको डीआईजी सापकोटाले जानकारी दिए ।
दुर्घटना भएकै दिन प्रदेश प्रहरी कार्यालयबाट डीआईजी सापकोटाको नेतृत्वमा ९ जना, जिल्ला प्रहरी कार्यालय दैलेखबाट १५ जना, इलाका प्रहरी कार्यालय दुल्लुबाट ७ जना, इलाका प्रहरी कार्यालय राकम कर्णालीबाट ६ जना तथा तल्लो डुङ्गेश्वर र पाल्तडा प्रहरी चौकीबाट ८ जना गरी नेपाल प्रहरीका ४५ जना परिचालन गरिएको थियो। त्यस्तै सशस्त्र प्रहरी बलबाट ६ जना गोताखोरसहित ३५ जना तथा नेपाली सेनाबाट ११ जना परिचालन गरी संयुक्त रुपमा खोजी कार्य गरिएको थियो ।
हाल घटनास्थलमा नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरीका १५ जना, जसमा ६ जना गोताखोर गरी २५ जना सुरक्षाकर्मी निरन्तर खोजीमा खटिएका छन् । सुर्खेतका बिजौरा, लगाम, तातोपानी र घाटगाउँस्थित प्रहरी युनिटहरू कर्णाली नदी किनारमा परिचालित छन् भने अछाम, कैलाली र बर्दियासँग पनि समन्वय गरेर खोजीलाई विस्तार गरिएको छ।
एक जनाको मृत्यु, चार जना अझै बेपत्ता
असार १८ गते बिहान करिब साढे ११ बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो ।
प्रहरीका अनुसार सुर्खेत बसपार्कबाट चालक र सहचालकसहित पाँच जना गाडीमा चढेको पुष्टि भएको छ। तर, बीच बाटोमा थप यात्रु चढे वा नचढेको भन्ने विषय अझै यकिन हुन सकेको छैन।
दुर्घटनापछि अचेत अवस्थामा फेला परेका कालिकोट पचालझरना गाउँपालिका–९ का जेखे तिरुवालाई उपचारका लागि दुल्लु अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी तथा यात्रु मेखे तिरुवा र सिर्जना खड्का अझै बेपत्ता छन् ।

सडक सुरक्षामा सुधार गर्नुपर्नेमा जोड
डीआईजी सापकोटाले दुर्घटनापछि प्रभावकारी चेकिङ प्रणालीको आवश्यकता पनि औँल्याए। उनका अनुसार कर्णाली राजमार्गको एस मोड क्षेत्रका विभिन्न स्थानमा चेकपोइन्ट नहुँदा दुर्घटनापछि गाडीमा कति यात्रु थिए भन्ने यकिन गर्न कठिन भएको छ।
प्रहरीले ठाउँ–ठाउँमा चेकिङ गर्दा ज्यादती भएको गुनासो आए सुधार गर्न तयार रहेको बताउँदै उनले दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक सवारीसाधनको कम्तीमा प्रत्येक ६–६ महिनामा प्राविधिक परीक्षण अनिवार्य गर्नुपर्ने धारणा राखे। सडकको स्तरोन्नति, नियमित मर्मत, सुरक्षित पूर्वाधार निर्माण तथा प्रभावकारी अनुगमनका लागि सरकार, सडक विभाग, यातायात व्यवसायी र सुरक्षा निकायबीच समन्वय अपरिहार्य रहेको उनको भनाइ छ।