
फागुन २९,
डोल्पा : राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डाेल्पाकाे आयाेजनामा याेजना तर्जुमा गाेष्ठी सम्पन्न भएकाे छ। शुक्रबार सदरमुकाम दुनै बजारमा जिल्लाका विभिन्न ठाउमा स्याउ जाेन र सिमी जाेन कार्यक्रम संचालन भएका स्थानका कृषकहरु तथा जिल्ला स्थित विभिन्न सराेकारवाला निकायका प्रतिनिधिहरु सहभागी गाेष्ठीमा आ.व. २०८२/८३ काे कार्यक्रममा छलफल गरिएको छ भने आगामी आर्थिक बर्षमा कृषि क्षेत्र र कृषकलाई कस्ता किसिमका आवश्यकता रहेकाे छ भन्ने सुझाव संकलन गरिएको छ।

चालू आ.व.का कार्यक्रमलाई कसरी कार्यान्वयन गर्ने र नयाँ आवमा कस्ता कार्यक्रम समावेश गर्ने भन्ने विषयमा छलफल गरिएको हाे। चालू आ.ब मा संचालित स्याउ जाेन अन्तरगत सिंचाइ पुर्वाधार निर्माण तथा मर्मत सम्भार, स्याउ निर्यातकाे लागि ढुवानी ५० प्रतिशत अनुदान सहयाेग, जाेन प्रभाव क्षेत्रमा स्याउ High Density बिरुवा वितरण मार्फत क्षेत्रफल विस्तार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, स्थानीय तहसंगकाे समन्वयमा नर्सरी स्राेत केन्द्र स्थापना/सुदृढीकरण, स्याउ बगैचा सुदृढीकरण कार्यक्रम, जाेन/सुपरजाेन क्षेत्रमा कृषि यान्त्रीकरण सहयाेग, गत बर्ष स्थापना भएका तथा याे बर्ष स्थापना हुने नमुना बगैचाकाे घेराबारमा सहयाेग, प्याकेजिङ लेभलिङ तथा पाेष्ट हार्भेष्ट क्षति न्यूनीकरणका लागि कार्टुन सहयाेग कार्यक्रम संचालन रहेकाे राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यन्वयन एकाइ डाेल्पाका प्रमुख गाेविन्द बहादुर मल्लले जानकारी दिएका छन।

यस्तै दलहन बाली अन्तरगत सिमी जाेन कार्यक्रममा सीड वीन वितरण, सिमी प्याकेजिङ्ग लेभलिङ्ग तथा बजारिकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार,सिचाइ पुर्वाधार निर्माण तथा मर्मत सम्भार,जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग कार्यक्रम संचालन भैरहेको कार्यालय प्रमुख मल्लले बताए। किसानका माग र आवश्यकता अनुसार कार्यक्रम तथा याेजनाहरु संचालन गर्न आवश्यक रहेकाे जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले बताए ।
अनुदान प्रदायक निकायहरुले अनुदान मात्र दिने भन्दा पनि हामीले गरेकाे लगानीबाट के कति उपलब्धि भयाे भन्ने बिषयमा तथ्यांकगत विवरण राख्न जरुरी रहेकाे उनले बताए।अनुदानलाई खर्च गर्ने मात्र भन्दा पनि दीर्घकालीन व्यवसाय तिर ध्यान दिन प्रमुख राेकायाले कृषकलाई सुझाव दिएका छन। कृषकहरुले राज्यबाट पाउने अनुदान सबैले पाउने र खेर नजाने गरि कृषक बिच एक आपसमा समन्वय गरि जानूपर्ने आवश्यकता रहेकाे स्याउ जाेन संचालन समिति डाेल्पाका संयाेजक लिलराज राेकाया बताएका छन।