
बैशाख २३,
त्रिपुराकोट : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट वगरमा निःशुल्क स्वास्थ्य शिविर सचालन भई रहेको छ । त्रिपुराकोट स्वास्थ्य चौकीमा मगलवार सुरु भएको संयुक्त स्वास्थ्य शिविरमा फिस्टुला, कुष्ठरोग र प्रजनन रुग्णता जस्ता संवेदनशील तथा दीर्घकालीन रोगहरूको निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ।
त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा स्वास्थ्य सेवा कार्यालयको समन्वय, प्लान इन्टरनेशनल नेपाल र जर्मन कोर्पोरेशनको सहयोगमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । निःशुल्क सञ्चालन भइरहेको स्वास्थ्य शिविरमा साइनिङ नेपाल र आइएनएफ नेपाल (INF Nepal) सुर्खेतको प्राविधिक सहयोग रहेको छ त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भिम बहादुर थापाले जानकारी दिए ।
स्वास्थ्य चौकी लिकुका स्वास्थ्य निरिक्षक तुलबहादुर श्रेष्ठका अनुसार, शिविरमा विशेषगरी महिलामा देखिने प्रसवपश्चातको फिस्टुला, कुष्ठरोगजस्ता छालासम्बन्धी जटिल रोग तथा लामो समयदेखि सन्तान नभएकाहरूमाझ प्रजनन समस्या समाधानमा केन्द्रित सेवा दिईने बताए। शिविरमा जिल्ला अस्पताल दुनैका डाक्टर भीमबहादुर बुढा र आइएनएफ सुर्खेतका डाक्टर सुभक्षा देवा श्रेष्ठ नेतृत्वको स्वास्थ्य टोलीले बिरामीहरूको परीक्षण र परामर्श दिइरहेका छन्। दुरदराज र दुर्गम बस्तीहरूबाट स्वास्थ्य सेवा लिन कठिन हुने डोल्पाबासीका लागि एक दिने शिविर भएपनि यस्तो शिविरले गुणस्तरीय सेवामा पुर्याउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।
खानपान देखी श्रम गरेर जिविकोपार्जन गरेका दुर्गमका महिलाहरुमा प्रजनन स्वास्थ्यको समस्या महिलाहरुमा धेरै नै देखिने गरेको छ । आफुले भोगि रहेको स्वास्थ्यका समस्या बारे खुलेर भन्न नसक्नु र लाजसरम मान्ने भएका कारण पनि हिमाली भेगका महिलाहरुको स्वास्थ्य निकै जोखिमपूर्ण रहेको पाईन्छ ।