कर्णाली प्रदेशसभा सचिव खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साझा कर्णाली | २०८३ कार्तिक १८ गते मङ्गलवार

कात्तिक १७,
सुर्खेत : कर्णाली प्रदेशसभा सचिव डाक्टर अर्जुनकुमार खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिसँग सम्बन्धित जग्गा सट्टापट्टा तथा बिक्री प्रकरणमा खड्कालाई प्रतिवादी बनाउँदै मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
खड्का तत्कालीन कानुन तथा न्याय मन्त्रालयका उपसचिवका रूपमा कार्यरत रहँदा भएको निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।
यस प्रकरणमा अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन मन्त्री तथा मन्त्रिपरिषद्को सामाजिक समितिका संयोजक डाक्टर मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कारबाहीको माग गरिएको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खड्कासँगै उद्योग मन्त्रालयका तत्कालीन उपसचिवहरू नुरप्रताप कडेर र ध्रुवप्रसाद सापकोटा, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन उपसचिव हरिहर पन्त, शाखा अधिकृत बलराम निरौला र अर्थ मन्त्रालयका तत्कालीन उपसचिव लक्ष्मण थापा क्षेत्रीलाई पनि एउटै समूहमा प्रतिवादी बनाइएको छ ।