दशौँ राष्ट्रिय खेलकुदको ३० दिने काउन्टडाउन सुरु

साझा कर्णाली | २०८३ कार्तिक १८ गते मङ्गलवार

कात्तिक १७,
सुर्खेत: कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक दिनगन्ती सुरु भएको छ । प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहँदा सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले संयुक्त रूपमा काउन्टडाउनको शुभारम्भ गरेका हुन् ।
वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले प्रतियोगितालाई राष्ट्रिय उत्सवका रूपमा सम्पन्न गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताए । प्रदेश र स्थानीय तहसँगको समन्वयमा प्रतियोगिता भव्य र सभ्य बनाउने उनको भनाइ थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार प्रतियोगिताका लागि खेलाडी छनोट, बन्द प्रशिक्षण र आवश्यक खरिद प्रक्रिया अघि बढिसकेको छ । खेलाडी अफिसियलको आवास व्यवस्थापन र प्रचारप्रसारलगायतका काम अन्तिम चरणमा छन् । केही खेल भने मंसिर ८ गतेदेखि नै सञ्चालन हुनेछन् ।

यसअघि चारपटक मिति सारिएको प्रतियोगिता पाँचौँपटक आगामी मंसिर १६ देखि २७ गतेसम्म गर्ने निर्णय गरिएको हो । कर्णालीले २०७९ सालमा नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा दशौँ प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको थियो । पूर्वाधार निर्माणलगायतका कारण निर्धारित समयमा प्रतियोगिता हुन सकेको थिएन ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ गरी ११ टोली सहभागी हुनेछन् । ३२ खेल विधामा करिब साढे ६ हजार खेलाडी र तीन हजार अफिसियल सहभागी हुने कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए ।
उनका अनुसार २८ खेल विधा कर्णालीका सुर्खेत, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्लामा सञ्चालन गर्ने प्रस्ताव छ । बाँकी चार खेल नेपालगञ्जमा सञ्चालन गरिनेछ ।
कार्यक्रममा मुख्यमन्त्री शाहीले निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुने दाबी गर्दै तयारीमा कुनै समस्या नरहेको बताए । छोटो समयको तयारीका कारण केही व्यवस्थापकीय कमजोरी हुन सक्ने स्वीकार गर्दै उनले प्राप्त सुझावका आधारमा सुधार गर्दै जाने प्रतिबद्धता जनाए ।