सुरुङ् खनेरा भागे जिल्ला कारागार डोल्पावाट ८ कैदी खोजी कार्य तिब्र

जैतुन अनलाइन | २०८३ कार्तिक १५ गते शनिवार

कार्तिक १४,

डोल्पा :  जिल्ला कारागार डोल्पावाट ८ जना कैदी फरार भएका छन । शुक्रवार राती कारागारवाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएका हुन।  कारागारभित्र कैदीहरु बस्ने कोठावाट बाहिर खेल मैदान तिरको मागमा करिव ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर उनीहरू फरार भएका थिए । कैदीले बस्ने कोटावाट पुरानो सेप्टी ट्याङ्की र त्यहि वाट बाहिर खनेर भागेका थिए ।

 जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक  अनिलराज गिरीले भने फरार हुनेमध्ये ६ जना कैद सजाय भुक्तान गरिरहेका कैदी र २ जना पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन्। डिएसपी गिरीका अनुसार फरार हुनेमा ५ जना जबरजस्ती करणी मुद्दाका र ३ जना चोरी मुद्दाका रहेका छन्।

कारागारवाट फरार मध्यका  जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका फरार हुनेहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन्।

त्यस्तै, चोरी मुद्दामा कैद भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार फरार भएका छन्। चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी पनि फरार भएको प्रहरीले जनाएको छ।

जिल्ला कारागार डोल्पामा १७ जना कैदीबन्दी तथा थुनुवा रहेका थिए। तीमध्ये ८ जना सुरुङ खनेर शुक्रवार राति फरार भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ शनिबार बिहान प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र डीएसपी गिरीसहितको टोली कारागार पुगेको थियो। टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको छ भने जिल्लाका सवै नाकाहरुमा सुरक्षाकर्मि परिचालन गरी खोजी कार्य तिब्र बनाएको छ ।

कारागारभित्रै ४ मिटरभन्दा लामो सुरुङ खनेर आठ जना एकैपटक फरार हुनुले कारागारको आन्तरिक सुरक्षा, निगरानी तथा सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न खडा गरेको छ। जिल्लाको प्रमुख सुरक्षा निकायको निगरानीमा रहेको कारागारबाटै यसरी कैदीबन्दी फरार हुनुले सुरक्षा व्यवस्थाको प्रभावकारितामाथि थप चासो बढाएको छ। फरार व्यक्तिहरूको खोजी, घटनाको विस्तृत अनुसन्धान र कारागारको सुरक्षा अवस्थाबारे थप विवरण आउन बाँकी छ।