
कार्तिक ११,
त्रिपुराकोट डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा पाँचौँ मेयर कप जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८३ सुरु भएको छ। ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मूल नारासहित बुधबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका २० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशसभाकी पूर्वसमानुपातिक सांसद बदमी क्वाँरी बोहोरा र त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाले संयुक्त रूपमा गर्नुभएको हो।
नगरपालिकाले सार्वजनिक गरेको समूह विभाजनअनुसार प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। पोल ‘ए’ मा करेलीकोट डोल्पा, रेड एप्पल ‘बी’ त्रिपुरासुन्दरी–४, परिवर्तन युवा क्लब सु, टीवाईसी त्रिपुरासुन्दरी–१ र ठूलीभेरी–१० रहेका छन्।

त्यस्तै, पोल ‘बी’ मा माइफाल यार्सा स्पोर्ट्स क्लब ठूलीभेरी–५, मष्टा भवानी युवा क्लब जुफाल–७, सत्यदेवी युवा क्लब त्रिपुरासुन्दरी–२, टसी रिम्पोछे जनजागरण युवा क्लब त्रिपुरासुन्दरी–२ र सूर्यमुखी युवा क्लब ‘ए’ त्रिपुरासुन्दरी–५ छन्।
पोल ‘सी’ मा लिकु–१०, मनमा युवा क्लब जुफाल, सूर्यमुखी युवा क्लब ‘बी’ त्रिपुरासुन्दरी–५, मुड्केचुला र एफवाईए त्रिपुरासुन्दरी–६ रहेका छन्। यसैगरी, पोल ‘डी’ मा त्रिपुरासुन्दरीका वडा नम्बर ११ र ८, रेड एप्पल ‘ए’ त्रिपुरासुन्दरी–४, सूर्यदय युवा क्लब त्रिपुरासुन्दरी–३ जिउँ तथा आयोजक टोली रहेका छन्।
उद्घाटन समारोहमा बोल्दै नेपाली कांग्रेस डोल्पाका सचिव हिक्मत शाही, नेकपा एमालेका जिल्ला अध्यक्ष लंकबहादुर रोकाया, नेकपाका केन्द्रीय सदस्य काली चलाउने र जिल्ला सहइन्चार्ज बबिकिशोर गुरुङलगायत अतिथिले खेलकुद क्षेत्रमा अनुशासन, मर्यादा र नियमको पालना सबैभन्दा महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँहरूले नगरपालिकाले सञ्चालन गर्दै आएको मेयर कपले स्थानीय खेलाडीको प्रतिभा पहिचान, क्षमता विकास र नयाँ खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

वक्ताहरूले जिल्ला खेलकुद विकास समितिमा हुने राजनीतिक नियुक्ति तथा पक्षपातले खेलकुद क्षेत्रको समग्र विकासमा असर परेको भन्दै चिन्तासमेत व्यक्त गरेका थिए।
उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै त्रिपुरासुन्दरी नगरपालिका–३ का वडाध्यक्ष भक्तबहादुर केसीले जिल्लाभित्रका खेलाडीलाई प्राथमिकता दिँदै उनीहरूको प्रतिभा र क्षमता उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। यसपटकको मेयर कपको ट्रफी जिल्लामै राख्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो।

जनप्रतिनिधिको कार्यकालमा खेलकुद क्षेत्रको विकासका लागि महत्त्वपूर्ण योगदान पुर्याउने उद्देश्यले नगर कार्यपालिकाको निर्णयअनुसार प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ थियो। प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा मेयर कप व्यवस्थापन संयोजक डा. हेमन्त शाहीका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख, द्वितीयले एक लाख ५० हजार, तृतीयले एक लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई सात हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर र अनुशासित खेलाडीलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। नगरपालिकाको प्रशासनिक केन्द्र परिसरमा रहेको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल खेलसमेत आयोजना गरिएको थियो। उक्त खेलमा जनप्रतिनिधिको टोलीले कर्मचारीको टोलीलाई २–१ को सेटमा पराजित गरेको छ।
प्रतियोगिताका बाँकी खेल बिहीबारदेखि निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ। स्थानीय खेलाडीको क्षमता अभिवृद्धि, प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकास र जिल्लामा भलिबल खेलको प्रवर्द्धन गर्ने अपेक्षासहित प्रतियोगिता सञ्चालन भइरहेको छ।
