डोल्पामा नेपाल प्रहरीको ७१औँ स्थापना दिवस, उत्कृष्ट प्रहरी सम्मानित

जैतुन अनलाइन | २०८३ असोज ३० गते शुक्रवार

असोज ३०,

डोल्पा : जिल्ला प्रहरी कार्यालय डोल्पाले नेपाल प्रहरीको ७१औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। ‘विपद्मा सारथि, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नारासहित आयोजित कार्यक्रममा विजयादशमी २०८३ को शुभकामना आदानप्रदान गर्नुका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ।

कार्यक्रमकी प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले डोल्पाको विकट भूगोल, प्रतिकूल मौसम र छरिएर रहेका बस्तीका कारण शान्ति सुरक्षा कायम गर्नु चुनौतीपूर्ण रहेको बताइन्। सीमित स्रोतसाधनका बाबजुद जिल्लाका दुर्गम बस्ती र कुनाकन्दरासम्म पुगेर नागरिकको जीउधनको सुरक्षामा खटिएका प्रहरी कर्मचारीको कार्यसम्पादन प्रशंसनीय रहेको उनको भनाइ थियो।

‘डोल्पामा सेवा गर्नु आफैँमा चुनौतीपूर्ण छ। यहाँको कठिन भूगोल, प्रतिकूल मौसम र दुर्गम बस्तीमा शान्ति सुरक्षा प्रदान गर्न सामान्य कर्तव्य निर्वाहले मात्र पुग्दैन, उच्च साहस, धैर्य र राष्ट्रप्रतिको अगाध प्रेम आवश्यक पर्छ,’ उनले भनिन्। ढकालले शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रहरी र स्थानीय समुदायबीचको सम्बन्ध थप सुदृढ गर्नुपर्नेमा जोड दिइन्। लागूऔषधलगायतका सामाजिक समस्याको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रहरी र नागरिकबीच सहकार्य र समन्वय आवश्यक रहेको उनले बताइन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अनिलराज गिरीले नेपाल प्रहरीले अग्रजहरूले स्थापित गरेको गौरवपूर्ण परम्परालाई आत्मसात् गर्दै इमानदारी, कर्तव्यनिष्ठा र निर्भीकताका साथ राष्ट्र तथा नागरिकको सेवामा काम गरिरहेको बताए।

उनले प्रहरीको संस्थागत विकास, क्षमता अभिवृद्धि र सेवा प्रवाहलाई प्रभावकारी बनाउन नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार र आम नागरिकको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे। सीमित स्रोतसाधनका बाबजुद शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिबद्ध रहेको बताउँदै उनले नागरिकमैत्री प्रहरी सेवा प्रवाहका लागि सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको धारणा राखे।

स्थापना दिवसका अवसरमा कर्तव्यपालनका क्रममा ज्यान गुमाएका पूर्वप्रहरी तथा प्रहरी सदस्यहरूको योगदानको स्मरण गर्दै उनीहरूप्रति श्रद्धा व्यक्त गरिएको थियो। साथै, जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी जवान तथा अधिकृतहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल, प्रहरी नायव उपरीक्षक अनिलराज गिरी, राष्ट्रिय अनुसन्धान प्रमुख सन्तोष ओझा, संग्राम शार्दूल गुल्म सुलिगाडका मेजर नरेश विष्ट तथा सशस्त्र प्रहरी बल दुनै गुल्मका प्रहरी नायव उपरीक्षक प्रमोद राय यादव लगायतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक प्रमोद राय यादव, राष्ट्रिय अनुसन्धान प्रमुख सन्तोष ओझा, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। स्थापना दिवसको अवसरमा विजयादशमीको शुभकामना आदानप्रदान गर्दै सहभागीहरूले आपसी सद्भाव, सहकार्य र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता व्यक्त गरेका थिए।