कर्णालीमा चाडपर्व सुरक्षा कडा, ५ हजार बढी प्रहरी परिचालन

साझा कर्णाली | २०८३ असोज २५ गते आइतवार


असोज २५
सुर्खेतः प्रमुख चाडपर्व विजयादशमी, दीपावली र छठलाई लक्षित गर्दै कर्णाली प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित आपराधिक गतिविधि नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण र नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउन प्रदेश प्रहरीले ‘चाडपर्व सुरक्षा योजना–२०८३’ कार्यान्वयनमा ल्याएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार आइतबारदेखि लागू भएको सुरक्षा योजना छठ पर्व सम्पन्न हुने कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा प्रदेशभरका विभिन्न स्थानमा ५ हजार ३१४ जना प्रहरी परिचालन गरिएको छ ।

चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, पाकेटमारी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी बढाएको छ। बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, भीडभाड हुने बजार, सार्वजनिक स्थल, मेला तथा धार्मिक र पर्यटकीय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, ठगी गर्ने र उपभोक्तासँग मनपरी मूल्य असुल्ने कार्य नियन्त्रण गर्न बजार अनुगमनलाई समेत प्राथमिकता दिइएको छ । सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिने प्रवृत्ति रोक्न तथा सहज आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँच व्यवस्था मिलाइएको छ ।

प्रहरीका अनुसार प्रदेशभर १ हजार ४६२ वटा ड्युटीमा प्रहरी परिचालन गरिएको छ। कर्णालीमा कुल ५ हजार ५०७ जना प्रहरी जनशक्ति रहेकामा करिब ९६ प्रतिशतलाई चाडपर्व सुरक्षा व्यवस्थापनमा खटाइएको प्रवक्ता राठौरले जानकारी दिए। आवश्यक परे रिजर्भमा रहेका प्रहरी टोलीसमेत परिचालन गरिनेछ ।

सुरक्षा योजना प्रभावकारी बनाउन २८ वटा मोबाइल गस्ती, ९८ वटा मोटरसाइकल गस्ती, ६० वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) र १४८ वटा पैदल गस्ती टोली परिचालन गरिएको छ। यसका अतिरिक्त लामो तथा छोटो दूरीका २०४ वटा गस्ती सञ्चालन गरिनेछ भने १७६ स्थानमा प्रहरी पिकेट राखिनेछ ।

सवारीसाधनको नियमित, विशेष तथा आकस्मिक जाँचका लागि ६७ स्थान निर्धारण गरिएको छ । ट्राफिक प्रहरीसहित ४७ स्थानमा संयुक्त चेकजाँच, ३८ स्थानमा महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा र ३७ स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी ३१ स्थानमा बैंक तथा वित्तीय संस्थाको सुरक्षा र बजार अनुगमन गरिनेछ । २४ वटा अतिसंवेदनशील स्थानमा माइकिङमार्फत जनचेतना फैलाइने, २३ स्थानमा सीसीटीभीबाट निगरानी गरिने तथा अन्य विभिन्न प्रकृतिका ड्युटीसमेत सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा जुवातास, डाइस, लङ्गुरबुर्जा, कौडा र अनलाइन सट्टेबाजी नियन्त्रण गर्न पनि प्रहरीले विशेष अभियान सञ्चालन गर्नेछ । अवैध हातहतियार तथा विस्फोटक पदार्थको ओसारपसार र प्रयोग रोक्न निगरानी बढाउनुका साथै सरकारी कार्यालय, महत्त्वपूर्ण प्रतिष्ठान र सांस्कृतिक सम्पदाको सुरक्षामा समेत ध्यान दिइएको छ ।

प्रहरीले चाडपर्वका बेला फरार कैदीबन्दी तथा अभियुक्तहरू आफ्नो घरतर्फ आउन सक्ने र त्यसबाट सुरक्षा चुनौती बढ्न सक्ने सम्भावनालाई पनि ध्यानमा राखेको छ । सम्भावित जोखिम नियन्त्रण गर्न नियमित निगरानी, प्रभावकारी अनुगमन र आवश्यकताअनुसार प्रहरी परिचालन गरिने प्रवक्ता राठौरले बताए ।

सुरक्षा व्यवस्थापनका क्रममा आवश्यक परे सन्तुलित बल प्रयोगको नीति अपनाइने प्रहरीले जनाएको छ। यसका लागि १ हजार ५३० थान घातक हतियार र २ हजार २७० थानभन्दा बढी गैरघातक साधन परिचालन गर्ने तयारी गरिएको छ ।

प्रहरीले चाडपर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन नागरिकलाई पनि सतर्क रहन आग्रह गरेको छ । सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनबाट अपराध नियन्त्रण, सडक दुर्घटनामा कमी तथा चोरी, डकैती र लुटपाटजस्ता घटनामा न्यूनीकरण हुने अपेक्षा प्रहरीले गरेको छ ।