

असोज २०,
डोल्पाः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशका १० वटै जिल्लामा खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । प्रदेशका विभिन्न जिल्लामा ३२ वटा खेल विधामा खेलाडी छनोट भइरहेको छ । यसैक्रममा आजदेखि डोल्पामा पनि क्षेत्रीय खेलका लागि खेलाडी छनोटको काम सुरु भएको हो ।
डोल्पामा सुरु भएको छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र खेलाडीको क्षमता तथा प्रतिभाका आधारमा अघि बढाइने कर्णाली प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य किरणकिशोर सापकोटाले बताएका छन् । उनले खेलकुदमा समावेशिताको विषयलाई विशेष प्राथमिकता दिँदै सबै खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने समान अवसर पाउनुपर्ने बताए ।
शारीरिक रुपमा अशक्त भए पनि आफूभित्रको इच्छाशक्तिका कारण छनोटका लागि डोल्पासम्म आइपुगेको उल्लेख गर्दै सापकोटाले आफ्नो व्यक्तिगत अनुभवलाई पनि खेलकुदसँग जोडेर प्रस्तुत गरे । सानै उमेरमा पोलियो लागेर शारीरिक रुपमा अशक्त भए पनि खेलकुदप्रतिको लगाव र इच्छाशक्तिले आफूलाई निरन्तर अघि बढाएको उनको भनाइ छ ।
‘म सानैमा पोलियो लागेर शारीरिक रुपमा अशक्त भएँ,’ उनले भने, ‘तर शारीरिक रुपमा अशक्त भएपनि इच्छाशक्ति कमजोर हुनुपर्छ भन्ने होइन । यही इच्छाशक्तिकै कारण म आज डोल्पासम्म आएको छु । खेलकुदले मलाई धेरै कुरा दिएको छ र खेलकुदकै कारण म आज यो ठाउँमा छु । त्यसैले खेलकुदमा अवसर पाउनबाट कोही पनि वञ्चित हुनु हुँदैन भन्ने मेरो मान्यता हो ।’ उनले डोल्पामा हुने छनोट प्रक्रियामा कुनै पनि प्रकारको पक्षपात नगरी योग्य र क्षमतावान खेलाडी छनोट गर्ने प्रतिबद्धता व्यक्त गरे । छनोटका क्रममा खेलाडीको क्षमता, प्रदर्शन, अनुशासन र खेलप्रतिको लगावलाई आधार बनाइने उनको भनाइ छ ।
‘हाम्रो टिमले निष्पक्ष रूपमा काम गर्नेछ,’ सापकोटाले भने, ‘कसैलाई चिनेकै आधारमा, पहुँचका आधारमा वा अन्य कुनै प्रभावका कारण छनोट गर्ने होइन । मैदानमा जसले राम्रो प्रदर्शन गर्छ, जसले आफ्नो क्षमता प्रमाणित गर्छ, त्यही खेलाडी अगाडि आउनुपर्छ । हामी त्यसैगरी निष्पक्ष छानविन र छनोट गर्नेछौँ । त्यसका लागि यहाँका सबैको सहयोग र सकारात्मक वातावरणको अपेक्षा गरेका छौँ ।’
खेलकुदमा समावेशिताको विषयलाई पनि विशेष ध्यान दिइने सापकोटाले बताए । उनले भौगोलिक विकटता, आर्थिक अवस्था, शारीरिक अवस्था वा अन्य कुनै कारणले प्रतिभावान खेलाडी अवसरबाट वञ्चित हुन नहुने धारणा व्यक्त गरे । ‘खेलकुदमा समावेशिता अत्यन्तै महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘शहरमा मात्रै खेलाडी हुन्छन् भन्ने होइन । डोल्पाजस्तो दुर्गम जिल्लामा पनि उत्कृष्ट प्रतिभा हुन सक्छन् । उनीहरुलाई अवसर र आफ्नो क्षमता देखाउने वातावरण दिनुपर्छ । हाम्रो उद्देश्य नै त्यस्ता प्रतिभालाई खोज्ने र अगाडि ल्याउने हो ।’
उनले कठिन ठाउँमा पुगेर मेहनत गर्ने खेलाडीले नै ठूलो सफलता हासिल गर्न सक्ने उल्लेख गरे । खेलकुदमा चुनौती जति ठूलो हुन्छ, उपलब्धिको महत्व पनि त्यति नै ठूलो हुने उनको भनाइ छ । ‘जहाँ अप्ठ्यारो हुन्छ, त्यहीँबाट मेडल प्राप्त हुन्छ । सजिलो ठाउँमा मात्रै अवसर खोजेर हुँदैन,’ उनले भने, ‘डोल्पाको भौगोलिक अवस्था र यहाँका चुनौती आफ्नै किसिमका छन् । तर यही चुनौतीका बीचबाट राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ । हामीले यहाँका खेलाडीको आत्मविश्वास बढाउने र उनीहरुलाई राष्ट्रिय स्तरसम्म पुग्ने बाटो खोल्ने प्रयास गर्नुपर्छ ।’

सापकोटाले आफ्नो जिम्मेवारीअन्तर्गत सुर्खेत र डोल्पा रहेको भन्दै समय छोटो भए पनि उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै प्रभावकारी रुपमा छनोट प्रक्रिया सम्पन्न गर्ने सापकोटाले बताए । डोल्पाबाट पनि राम्रा र प्रतिभाशाली खेलाडी छनोट भएर प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितासम्म पुग्ने अपेक्षा गरिएको उनले बताए । समय धेरै नभएपनि कामको गुणस्तरमा सम्झौता नगरी उपलब्ध छोटो समयलाई सही ढंगले सदुपयोग गरेर दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा डोल्पाको पनि बलियो सहभागिता गराउने गरी आफूहरु लागेको उको भनाइ छ ।
सापकोटाले डोल्पाका खेलाडीलाई आफूले रुचि र क्षमता भएको खेल विधामा उत्साहपूर्वक सहभागी हुन आग्रह गरे । खेलाडी छनोटको अवसरलाई सदुपयोग गर्दै आफ्नो प्रतिभा प्रस्तुत गर्न उनले खेलाडीलाई आग्रह गरेका छन् । ‘तपाईंलाई जुन खेलमा रुचि छ, त्यही खेलमा आउनुस् । आफ्नो क्षमता देखाउनुस्,’ उनले भने, ‘जितिन्छ कि जितिँदैन भनेर सुरुमै डराउनु पर्दैन । अवसर पाउनु नै पहिलो कुरा हो । मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन दिनुस् । मेहनत र इच्छाशक्ति भयो भने डोल्पाबाट पनि राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिन्छ ।’
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंशीर १६ गतेदेखि २७ गतेसम्म प्रदेशमा आयोजना हुँदैछ । प्रतियोगिताका लागि प्रदेशका १० वटै जिल्लामा विभिन्न ३२ खेल विधामा खेलाडी छनोट प्रक्रिया सञ्चालन भइरहेको छ । जिल्लास्तर तथा क्षेत्रीय छनोटबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रदेशस्तरीय टोली निर्माण गरिनेछ ।
कर्णालीमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रदेशका खेलाडीका लागि आफ्नो प्रतिभा राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रुपमा लिइएको छ । विशेषगरी भौगोलिक रुपमा विकट मानिने डोल्पालगायतका जिल्लाबाट प्रतिभावान खेलाडी पहिचान गरी राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने लक्ष्य राखिएको छ ।
डोल्पामा सुरु भएको छनोट प्रक्रियाबाट उत्कृष्ट खेलाडी छनोट गरी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउने र जिल्लाको खेलकुद विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।