मंसिर १६ मै दसौँ राष्ट्रिय खेलकुद हुने, तयारी अन्तिम चरणमा

साझा कर्णाली | २०८३ असोज १९ गते सोमवार

असोज १९,
सुर्खेतः कर्णालीमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुनेमा आशंका नगर्न आयोजकले आग्रह गरेको छ । प्रतियोगिता सर्ने विषयमा विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला आयोजकले मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने निश्चित रहेको जनाएको हो ।

आइतबार सुर्खेतमा बसेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठकपछि आयोजकले प्रतियोगिता सञ्चालनका लागि पूर्वाधार, खेलस्थल, खेलाडीको आवास, खेल सामग्री खरिद तथा व्यवस्थापनका कामलाई तीव्रता दिएको जनाएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतियोगिता तोकिएको मितिमै हुने भन्दै यसबारे कुनै दुविधा नराख्न आग्रह गरे ।

‘दसौँ राष्ट्रिय खेलकुद हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नुहोला । दसौँ राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो । प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो,’ उनले भने ।

उनका अनुसार विगतका राष्ट्रिय खेलकुद प्रतियोगिताभन्दा प्रभावकारी ढंगले यसपटकको प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको छ । प्रतियोगिता सफल बनाउन संघीय, प्रदेश र स्थानीय सरकारसहित खेल क्षेत्रसँग सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले पनि प्रतियोगिता निर्धारित समयमै हुने सुनिश्चितता भइसकेको बताए । उनका अनुसार प्रतियोगिताका लागि ४४ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । थप बजेट आवश्यक रहेकाले माग गरिएको र अर्थ मन्त्रालयबाट करिब ७१ करोड रुपैयाँ बजेट सुनिश्चित गर्ने प्रक्रिया अघि बढेको उनले जानकारी दिए । निर्धारित समयमै खेलकुद प्रतियोगिता हुन्छ, त्यसको सुनिश्चितता भइसकेको छ,’ मेहताले भने ।

उनका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि आवश्यक खेल सामग्री खरिद प्रक्रिया अघि बढिसकेको छ । खेल सञ्चालन, व्यवस्थापन तथा अन्य पूर्वतयारीका काम पनि समानान्तर रूपमा अघि बढाइएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग आवश्यक समन्वय गरेर तयारीलाई अघि बढाइएको उनले बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले सुर्खेत रंगशालाको निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार रंगशाला हस्तान्तरणको प्रक्रिया असोजको अन्तिमसम्म पूरा हुनेछ । अहिले सरसफाइलगायतका काम भइरहेको उनले बताए ।

‘रंगशालाको काम १०० प्रतिशत सम्पन्न भएको छ । अहिले सरसफाइलगायतका काम सकिँदै छन्,’ चन्दले भने ।

प्रतियोगिताका लागि खेल संघ तथा सम्बन्धित संस्थासँग निरन्तर समन्वय भइरहेको उनले बताए । तर खेलाडी तथा अन्य सहभागीको बसोबास व्यवस्थापन भने चुनौतीपूर्ण रहेको चन्दको भनाइ छ । सुर्खेतमा करिब तीन हजार बेडको व्यवस्था रहेको र थप आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । प्रतियोगितामा ३२ खेल विधामा प्रतिस्पर्धा गराउने निर्णय भएको छ ।

३२ मध्ये अधिकांश खेल सुर्खेतमै सञ्चालन गर्ने तयारी छ । पूर्वाधार र भौगोलिक अवस्थाका आधारमा केही खेल भने कर्णालीका अन्य जिल्लामा सञ्चालन गरिनेछन् । दैलेख, कालिकोट, सल्यान र जुम्लालगायतका जिल्लामा समेत खेल सञ्चालन गर्ने तयारी गरिएको छ । केही खेल भने बाँकेको नेपालगन्जमा आयोजना हुनेछन् । नेपालगन्जमा सुटिङ र टेनिसलगायतका खेल सञ्चालन गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।

मुख्यमन्त्री मंगलबहादुर शाहीले पनि आइतबारको बैठकले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेमा थप प्रत्याभूति भएको बताए । प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि कर्णाली ठूलो राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम छ भन्ने सन्देश जाने उनको भनाइ छ ।

कर्णालीका विभिन्न जिल्लामा खेलकुदका पूर्वाधार निर्माण भइसकेको र खेलकुद मन्त्रालयको प्राविधिक टोलीले ती पूर्वाधारको अध्ययन गरिरहेको उनले जानकारी दिए ।

यसअघि खेल संघका प्रतिनिधिहरूले प्रतियोगिता समयमै हुनेमा आशंका व्यक्त गरेका थिए । त्यसपछि परिषद्का सदस्य सचिव मेहताले प्रतियोगिता सर्ने विषयमा शंका नगर्न आग्रह गरेका हुन् ।

‘यहाँ समयमा खेल हुन्छ कि हुँदैन या फेरि सर्छ कि भन्ने गुनासो सुनिन्छ । तर हामीले यसलाई एउटा फ्रेस स्टार्ट ठानेका छौँ । त्यसैले ढुक्क हुन अनुरोध गर्दछु,’ उनले भने ।

प्रतियोगितासँगै प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने तयारी छ । पारा राष्ट्रिय खेलकुद मंसिर १५ गते सञ्चालन गर्ने तयारी गरिएको मेहताले जानकारी दिए ।

मूल आयोजक समितिले प्रतियोगिता सञ्चालनमा निजी क्षेत्र तथा अन्य सरोकारवालालाई समेत सहभागी गराउने निर्णय गरेको छ । सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार प्रायोजकसँग समझदारी गरी प्रतियोगिता व्यवस्थापनमा सहकार्य गर्ने तयारी गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि विषयगत उपसमितिसमेत गठन गरिने भएको छ ।

कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुदको ठूलो संस्करण आयोजना हुन लागेकाले यसलाई प्रदेशको खेलकुद पूर्वाधार र प्रतिभा विकासका लागि अवसरका रूपमा हेरिएको छ । प्रतियोगितामार्फत स्थानीयस्तरबाट खेल प्रतिभाको पहिचान तथा उत्पादन, खेल पूर्वाधारको उपयोग, खेलाडीको क्षमता विकास र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार अबको प्राथमिकता बाँकी पूर्वाधार तथा व्यवस्थापनका काम समयमै पूरा गर्नु हो । खेलस्थल, खेल सामग्री, आवास, यातायात तथा अन्य व्यवस्थापनका कामलाई समानान्तर रूपमा अघि बढाएर मंसिर १६ गतेदेखि प्रतियोगिता सुरु गर्ने तयारी गरिएको छ ।