कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति: ९३ रोपनी जग्गादेखि १० तोला सुनसम्म

साझा कर्णाली | २०८३ असोज १७ गते शनिवार

असोज १७,

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेको ६३ दिनपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुबख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार शाही र उनका परिवारका सदस्यहरूको नाममा मुगुका विभिन्न स्थानमा गरी करिब ९३ रोपनी जग्गा रहेको छ ।

सम्पत्ति विवरणअनुसार उक्त जग्गाको ठूलो हिस्सा मुख्यमन्त्री शाहीकी श्रीमती, छोरी र आमाको नाममा रहेको छ । शाहीको आफ्नै नाममा भने साविक जिमा गाविस–९ मा ४०२ वर्गमिटर जग्गा रहेको उल्लेख छ । उनकी श्रीमती नारायणदेवी शाहीको नाममा साविक श्रीनगर गाविस–४ मा ४२४ वर्गमिटर जग्गा रहेको र उक्त जग्गा २० लाख रुपैयाँमा व्यवसायबाट प्राप्त आम्दानीको स्रोतबाट खरिद गरिएको जनाइएको छ ।

परिवारका अन्य सदस्यका नाममा पनि विभिन्न स्थानमा जग्गा तथा घर रहेको विवरणमा उल्लेख छ । शाहीकी आमाको नाममा रहेका अधिकांश जग्गाको स्रोत पैतृक सम्पत्ति बताइएको छ ।

मुख्यमन्त्री शाहीसँग १० तोला सुन र १० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सुनको स्रोतमा पैतृक सम्पत्ति, शिक्षकको तलब, व्यवसायबाट भएको आम्दानी तथा पारिश्रमिकलाई उल्लेख गरिएको छ ।

विवरणअनुसार चार तोला सुन पैतृक सम्पत्तिबाट प्राप्त भएको हो । त्यस्तै, २०५३ सालमा शिक्षकको तलबबाट दुई तोला, २०७५ सालमा व्यवसायबाट एक तोला, २०८० सालमा पारिश्रमिकबाट एक तोला र २०८१ सालमा पारिश्रमिकबाट दुई तोला सुन खरिद गरिएको उल्लेख छ ।

सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री शाहीको बैंक खातामा कुल १ लाख ५५ हजार रुपैयाँ मौज्दात रहेको छ  । राष्ट्रिय वाणिज्य बैंक काठमाडौंमा १ लाख ५० हजार र एनएमबी बैंक सुर्खेतमा ५ हजार रुपैयाँ रहेको उल्लेख छ ।

त्यसैगरी, शाहीले १८ लाख रुपैयाँ ऋणसमेत रहेको विवरणमा जनाएका छन् । उक्त ऋण कृषि विकास बैंक मुगुबाट २०७९ असार २८ गते लिएको उल्लेख गरिएको छ ।

मुख्यमन्त्री शाहीको चल सम्पत्तिमा एउटा सुजुकी स्कुटर र सात वटा गोरु रहेका छन् । चारपांग्रे निजी सवारीसाधन भने नरहेको विवरणमा उल्लेख छ ।

शाहीकी छोरी उस्मिता शाहीको नाममा रहेको सुजुकी स्कुटर २०७५ सालमा २ लाख ३५ हजार रुपैयाँमा खरिद गरिएको हो ।

सम्पत्ति विवरणमा १ लाख १० हजार रुपैयाँ मूल्यको क्यामरा, ९० हजार रुपैयाँको सामसुङ मोबाइल, ६० हजार रुपैयाँको भिभो मोबाइल र ९० हजार रुपैयाँ मूल्यको ल्यापटपसमेत समावेश गरिएको छ ।

मुख्यमन्त्री शाहीले गत असार २९ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । कानुनी व्यवस्थाअनुसार पदभार ग्रहण गरेको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने भए पनि उनको विवरण ६३ दिनपछि सार्वजनिक भएको थियो । विवरण असोज २ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।