राष्ट्रसंघमा प्रधानमन्त्री शाहको १२ मिनेट सम्बोधनः रसुवाको मुद्दा उठाउँदै भने– भारत र चीनलाई सहयोगका लागि धन्यवाद

साझा कर्णाली | २०८३ असोज ९ गते शुक्रवार


असोज १०,
काठमाडौंः प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालको जलवायु न्यायको मुद्दा उठाएका छन् । करिब १२ मिनेट लामो सम्बोधनका क्रममा उनले भोटेकोसी र त्रिशूलीमा आएको बाढीबाट नेपालले भोगेको क्षति तथा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

बोल्नुअघि र बोल्दै गर्दा गडबडाहट भएपछि ताली पाएका शाहले भोटेकोसी र त्रिशूलीमा आएको बाढीमा तत्काल सहयोगका लागि भारत र चीनलाई धन्यवाद दिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भोटेकोसीको बाढीलाई ‘हिमनदी सुनामी’को संज्ञा दिँदै त्यसको प्रभाव नेपालसँगै चीन र भारतमा समेत परेको बताए । उनले जलवायु संकटलाई ‘भूराजनीतिक दोष’को विषय बनाउन नहुने धारणा राखे ।

प्रधानमन्त्री शाहले हिन्दुकुश हिमालय क्षेत्रमा करिब दुई अर्ब मानिसको जीवन जोडिएको उल्लेख गर्दै हिमाली क्षेत्रको जलवायु मुद्दामा नेपाल, चीन र भारतबीच सहकार्यको प्रस्ताव गरे ।

बाढीका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबरको क्षति भएको उल्लेख गर्दै उनले यो मानवीय संकट मात्रै नभई विकास संकटसमेत भएको बताए । जलवायु वित्तमा अनावश्यक ढिलाइ नगर्न आग्रह गर्दै शाहले भने, ‘घर जल्दा १५ वटा फारम भरिँदैन ।’

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले केही समय नेपाली भाषामा समेत बोले । उनले नेपालको सांस्कृतिक तथा आध्यात्मिक पहिचानसँग जोडिएका पशुपतिनाथ र बुद्धको प्रसंगसमेत उल्लेख गरे ।