पूर्वमुख्यमन्त्रीको हैसियतले राज्यका कुनै सुविधा नलिने कँडेलको घोषणा

जैतुन अनलाइन | २०८३ साउन १३ गते बुधवार


श्रावण १३,

सुर्खेतः कर्णाली प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले पूर्वमुख्यमन्त्रीको हैसियतले राज्य स्रोतबाट कुनै पनि सेवा नलिने घोषणा गरेका छन् ।

बुधबार पद हस्तान्तरण र बधाई ज्ञापनपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पूर्वमुख्यमन्त्रीका हैसियतले कुनै पनि सेवा नलिने घोषणा गरेका हुन् । उनले झन्डै २७ महिना प्रदेशको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भएकाप्रति कर्णालीवासीलाई धन्यवाद ज्ञापनसमेत गरेका छन् ।

उनले भनेका छन्, ‘लोकतान्त्रिक शासन व्यवस्थामा पद र जिम्मेवारी परिवर्तन स्वाभाविक तथा निरन्तर चलिरहने प्रक्रिया हो, तर जनताको सेवा, लोकतान्त्रिक मूल्यप्रतिको निष्ठा र प्रतिबद्धता कुनै पद वा जिम्मेवारीसँग सीमित हुँदैन। यही विश्वासका साथ मैले आफ्नो कार्यकाल सम्पन्न गरेको छु ।’

उनले कार्यकालको प्रारम्भदेखि नै सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र विकासको संस्थागत आधार निर्माण गर्ने कार्यमा इमान्दार प्रयत्न गरेको बताएका छन् ।

विद्यमान प्रदेश संरचनाको संकुचित दायरा र गठबन्धन सरकारका सीमितताभित्र रहेर कर्णालीको मानक माथि उठाउने प्रयास गरेको बताएका छन् ।

सार्वजनिक जीवनको जुनसुकै भूमिकामा रहे पनि कर्णालीको हित, लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण तथा समृद्ध प्रदेश निर्माणमा अविचलित भई सधैँ लाग्ने दाबी कँडेलको छ ।