सांसद वरालले भनिन्ः हामी भिख माग्न होइन, अधिकार माग्न आएका हौँ

जैतुन अनलाइन | २०८३ असार २२ गते सोमवार

काठमाडौं- नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले कर्णालीलाई राज्यले सधैँ उपेक्षा गरेको बताएकी छन् । उनले सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्री वालेन्द्र शाह ‘कर्णालीका सुइना मेरा सुइना’ भनेर रमारहेको बताइन् ।

‘शिक्षा र स्वास्थ्य होइन, हिँड्ने बाटो देऊ भन्दा कर्णालीका जनताले भिख मागेजस्तै गर्नुपर्छ । हामी भिख माग्न आएका होइनौँ, अधिकार माग्न आएका हौँ । यो कुरामा ध्यान दिइयोस्,’ उनले भनिन् ।

कर्णाली राजमार्गमा भएको दुर्घटनाको ७२ घण्टा भइसक्दा पनि न सास भेटिएको छ न लास भेटिएको उनले बताइन् । कर्णालीको लासको थुप्रोलाई राज्यले हेरिरहेको उनले प्रतिक्रिया दिइन् ।

‘कर्णालीका जनता नेपाली हुन् कि होइनन् ? कर्णालीका जनताले बाँच्न पाउनुपर्छ कि पर्दैन ? कहिलेसम्म राज्यको आँखा पुग्छ ?,’ उनले प्रश्न गरिन् ।

बिहान हिँडेका कर्णालीका जनता बेलुका घर फर्कन्छन् कि फर्कदैनन् भन्ने डरमा बाँच्नुपरेको उनको भनाइ छ ।