
चैत्र ०८,
डाेल्पा : डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाकाे नगर सभाकाे १४ औं अधिवेशनकाे उद्घाटन सत्र सम्पन्न भएकाे छ। आइतबार “सचेत नागरिक मार्फत दिगाे पूर्वाधार, स्वच्छ सरसफाइ, सुशासन सहित समृद्ध नगर पालिकाकाे आधार” भन्ने मुल नाराकाे साथ नगर प्रमुख जनचन्द्र राेकायाकाे अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर राेकायाकाे प्रमुख आतिथ्यतामा उपप्रमुख देवि घर्ती, नगर सभाका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएत विभिन्न निकायका व्यक्तिहरुकाे सहभागीतामा नगर सभाकाे १४ औं अधिवेशनकाे उद्घाटन सत्र सम्पन्न भएकाे हाे।

त्रिपुरासुन्दरी नगरपालिकाले यस आ.व. २०८२/८३ मा चालुगत ३९ कराेड ५८ लाख बजेट मध्य हाल सम्म १५ कराेड ८ लाख रुपैयाँ खर्च गरेकाे छ। यस्तै पुजीगत १३ कराेड ५२ लाख मध्य हाल सम्म ६७ लाख ९७ हजार रुपैयाँ खर्च भएकाे निमित्त प्रशासकीय अधिकृत थानेश्वर पनेरुले जानकारी दिए। नगरपालिकामा पटक पटक प्रमुख प्रशासकीय अधिकृतकाे फेरबदल र सरुवा हुने कार्यले नगरपालिकाकाे प्रगति विवरणमा कम्जोर देखिएको अधिकृत पनेरुले बताए। केही समय अघि मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी पाएका पनेरूले हाल प्रगति कम्जोर देखिएता पनि सबै काम प्रक्रिया अगाडि बढेकाे हुदा अब निरन्तर नगरपालिकाकाे काम हुने उनले बताएका छन। यस्तै नगरपालिकाबाट हुने न्यायिक समिति लगाएत विभिन्न फाटबाट भए गरेका क्रियाकलाप बारे जानकारी दिएका थिए।

नगर सभालाई सफलताको शुभकामना दिदै त्रिपुरासुन्दरी नगरपालिका भित्रकाे समग्र बिकासकाे लागि सबैलाई ऐक्यबद्धता भएर जनताको काम गर्न जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले सुझाव दिएका छन।
त्रिपुरासुन्दरी नगरपालिकाकाे उद्घाटन सत्रमा सहभागी हुने सबैलाई धन्यवाद दिदै नगरपालिकाकाे समृद्धिकाे लागि निरन्तर काम भैरहेको नगर प्रमुख जनचन्द्र राेकायाले बताए। नगरपालिकामा उपसचिव तहकाे प्रमुख प्रशासकीय अधिकृत दरबन्दी भएकाे तर आएर हाजिर हुने अनि विभाग मन्त्रालयमा बस्ने क्रियाकलापले नगरपालिकामा समस्या भएकाे नगर प्रमुख राेकायाले बताए। उनले भने” हामीले हाकिम खाेज्दै धेरै दिन गए, मुद्वा पर्छ भनेर काेही नआउने काेही आएका पनि काम गर्न नमान्ने, धेरै समस्या भाेग्याैं। अब निमित्त भएपनि हाकिम पाएका छाैं नीति निर्माण देखि बिकास निर्माणका काम रफ्तारमा हुने बिश्वास लिएकाे छु।सम्मानीत हुने गरी काम गर्नुस अनि नागरिकलाइ मुस्कान सहितको सेवा प्रदान गर्नुस ।

कर्मचारी आएर बस्न नमान्ने मेयरले काम गर्ने वातावरण नबनाएकाे जस्ताे देखियाे तर तेस्ताे नभएकाे जाे सुकै कर्मचारी भएपनि एकै घरकाे परिवार जसरी काम गर्ने वातावरण भएकाे पनि नगर प्रमुख राेकायाले बताए। नगरपालिकाले जनताका आवश्यकतालाई मध्यनजर गर्दै दीर्घकालीन बिकासमा जाेड दिने पनि उनले बताएका छन।
नगर सभाकाे अवसरमा नगर कार्यपालिका सदस्य गाेपाल केसी, वडा नं. ३ का वडा अध्यक्ष भक्त बहादुर केसी लगाएतका प्रतिनिधिले सहभागीहरुलाई मन्तव्य द्वारा स्वागत गरेका थिए। त्रिपुरासुन्दरी नगरपालिकाकाे नगर सभाकाे १४ औं अधिवेशनकाे उद्घाटन सत्र समापन पछि बन्दसत्र संचालन भएकाे छ। बन्द सत्रमा विभिन्न बिषयगत छलफल हुने नगरपालिकाले जनाएको छ।

