नेपाल राष्ट्र वैंकको सर्वेक्षणः कर्णालीमा पर्यटकको संख्यामा वृद्धि, आर्थिक वृद्धिदर चार प्रतिशत

जैतुन अनलाइन | २०८२ साउन २ गते शुक्रवार

साउन ०२,

सुर्खेतः कर्णालीमा पर्यटकको आगमन संख्यामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार कर्णालीमा पर्यटक आगमनमा वृद्धि भएको हो ।

आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्ममा पाँच लाख ७९ हजार नौ सय ४३ जना पर्यटकको आगमन भएको छ । कर्णाली प्रदेशस्थित नमूना छनौटमा परेका होटलहरूबाट प्राप्त तथ्याङ्कको आधारमा समग्र कर्णाली प्रदेशको होटल तथा पर्यटन व्यवसायको अवस्था विश्लेषण गरिएको हो ।

समीक्षा अवधिमा कर्णाली प्रदेशका होटलहरुको शैया संख्यामा कुनै परिवर्तन भएको छैन । समीक्षा अवधिमा प्रदेशमा होटल व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा १०.३० प्रतिशतले वृद्घि भएको देखिन्छ । गत अवधिमा सो व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा ३.७७ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा यस प्रदेशमा समग्रमा पर्यटन आगमन संख्या गत अवधिको तुलनामा ११.०९ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत अवधिमा ८.६४ प्रतिशतले वृद्धि भएको भारतीय पर्यटक आगमनको संख्यामा समीक्षा अवधिमा १२.८२ प्रतिशतले वृद्धि भएको छ ।

गत अवधिमा १४.४० प्रतिशतले वृद्धि भएको चिनियाँ पर्यटक आगमनको संख्यामा समीक्षा अवधिमा ३.६९ प्रतिशतले वृद्धि भएको छ । यस प्रदेशमा समीक्षा अवधिमा तेस्रो मुलुकबाट आउने पर्यटकहरुको संख्या १३.३४ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत अवधिमा भने २2 प्रतिशतले घटेको थियो ।
यसैबिच, प्रतिवेदनमा कर्णाली प्रदेशमा तरकारी र फलफूल उत्पादनमा वृद्धि भएको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार देशभर तरकारी र फलफूल उत्पादनमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को प्रथम अर्धवार्षिक अवधिमा तरकारी उत्पादन र फलफुल खेतीको उत्पादन क्रमशः २२ दशमलव ७४ प्रतिशत र ४४ दशमलव ७३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ को पौष मसान्तसम्म कर्णाली प्रदेशमा तरकारी तथा बागवानी उत्पादन २२ दशमलव ७४ प्रतिशतले वृद्धि भई दुई लाख ३१ हजार चार २८ मेट्रिक टन पुगेको छ ।

गत वर्ष यही अवधिमा यस्तो उत्पादन ६ दशमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा तरकारी उत्पादनमा २५ दशमलव ९७ प्रतिशतले बृद्धि भएको छ भने गत वर्षको यही अवधिमा तरकारी उत्पादनमा सात दशमलव ४० प्रतिशतले ह्रास आएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ को प्रथम अर्धवार्षिक अवधिमा कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको जग्गा अघिल्लो वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ११ प्रतिशतले घटेको छ ।

यस अवधिमा प्रमुख खाद्य बालीमध्ये धान, मकै, गहुँ, कोदो र जौले ढाकेको क्षेत्रफलमा क्रमशः पाँच दशमलव ११, चार दशमलव १६, चार दशमलव ८६, ११ दशमलव ५२ र एक दशमलव ३९ प्रतिशतले ह्रास आएको छ भने तरकारी र फलफुल बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ३३ दशमलव ८८ प्रतिशत र आठ दशमलव १७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाउछ ।

यस्तै, समीक्षा अवधिमा कर्णाली प्रदेशमा समग्र कृषि बालीको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ६ प्रतिशतले बढेको छ भने खाद्य, नगदे तथा अन्य बालीको उत्पादन चार दशमलव ८३ प्रतिशतले घटेको छ ।

त्यस्तै, यो अवधिमा प्रमुख खाद्य बालीमध्ये धान १० दशमलव २५, गहुँ १७ दशमलव ३१, कोदो २२ दशमलव ९२ र जौको उत्पादन आठ दशमलव ५५ प्रतिशतले घट्दा मकैको उत्पादन चार दशमलव २४ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंककको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१/०८२ को कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः २५ दशमलव ६ प्रतिशत, १२ दशमलव चार प्रतिशत र ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ ।

यस्तै आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर चार दशमलव सात प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ । यस अवधिमा कर्णालीको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३१ दशमलव पाँच, नौ दशमलव ६ र ५८ दशमलव नौ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा चार दशमलव ६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष २०८०/०८१ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव सात प्रतिशत थियो ।