असार ०७,
डोल्पा : डोल्पाको ठुलीभेरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५३ करोड २३ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। शुक्रबार नगरपालिकाका नगर प्रमुख सुवर्ण कुमार बुढाको अध्यक्षतामा सम्पन्न १५ औं नगर अधिवेशनबाट नीतिगत कार्यक्रम, अनुमानित राजस्व र खर्चसहितको बजेट पारित गरिएको हो।
ठुलीभेरी नगरपालिकाले चालु खर्चतर्फ ३९ करोड ८६ लाख ८४ हजार र पुँजीगत खर्चतर्फ १३ करोड ३७ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ९ करोड ६४ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड ८ लाख, आन्तरिक आम्दानी १ करोड, संघीय सरकारबाट सशर्त अनुदान ११ करोड ३४ लाख, सशर्त विशेष अनुदान ३ करोड १५ लाख, समपूरक अनुदान २ करोड ७५ लाख बजेट नगर सभाबाट पारित गरेको ठुलीभेरी नगरपालिका डाेल्पाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकायले जानकरी दिए।

सुशासन,आर्थिक समृद्धि, सामाजिक न्याय, गरीबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकास गरी समृद्ध नगर , सुखी नगरवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयन गर्न ठूलीभेरी नगरपालिकाको मार्गचित्र अनुसार साेहि विषयहरूलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सहित बजेट ल्याइएकाे नगर प्रमुख सुवर्ण कुमार बुढाले बताए।
नगरपालिकाले बजेट पारदर्शी, समावेशी र विकासमुखी बनाउने उद्देश्यले प्राथमिकता अनुसार योजनाहरूको वर्गीकरण गर्दै आएको जनाएको छ। बजेटमार्फत आधारभूत सेवा प्रवाह, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिइने जनाएको छ। नगरपालिकाले नगर सभाकाे अवसरमा नगरपालिकामा कार्यरत उत्कृष्ट विभिन्न फाटका कर्मचारीहरुलाई सम्मान सहित पुरस्कार प्रदान गरेकाे छ। स्थानीय सरकार संचालन ऐनमा स्थानीय सरकारले नयाँ आर्थिक बर्ष लाग्नु भन्दा १५ दिन अगाडि अर्थात् असार १५ गते भित्र नयाँ आ.ब काे बजेट गाउँ तथा नगर सभाबाट पास गर्नु पर्ने कानुनी बेबस्था रहेकाे छ।

