प्रतिपक्षले बजेटमा असहमति जनाएपछि कर्णालीमा प्रदेशसभाको वैठक अनिश्चित

जैतुन अनलाइन | २०८२ असार १ गते आइतवार

असार ०१,

सुर्खेतः कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सरकारले निर्माण गरेको बजेटमा असन्तुष्टि जनाउँदै वैठकमा सहभागी नहुने भनेपछि वैठक अनिश्चित बनेको छ । माओवादीले ‘योजना बैंक’ माथि प्रश्न उठाउँदै आफूखुसी एकलौटी ढंगले बजेट ल्याउन लागिएको भनेपछि दिउँसो ३ बजे बस्ने भनिएको वैठक बस्न नसकेको हो ।

माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सरकारले ‘आयोजना बैंक’ का नाममा योजना नै नखुलाएर बजेट निर्माण गरेको टिप्पणी गरे । अहिलेसम्म आयोजना वैंकमा कस्ता खालका योजना छन् भन्ने विषय नै सार्वजनिक नगरी बजेट ल्याइएको बताए ।

‘आयोजना बैंकभित्र के कस्ता आयोजना छन्छ भनेर कसैले पनि खोजी गरेन,’ उनले भने, ‘तपाईँ पत्रकारहरुले पनि खोजी गर्नुपर्ने हो, यो त सार्वजनिक हुनुपर्‍यो नि ।’
जिसीले चोर बाटो प्रयोग गरी पुर्वाग्रही ढ‌ंगले बजेट निर्माण गरिएको दाबी गरे ।

जिल्लास्तरीय समितिले सिफारिस गरेका र मन्त्रालयसम्म पुगेका योजनालाई सरकारले वेवास्ता गरी मनलाग्दी योजना समावेश गरिएको उनकाे भनाइ छ । यसबारे अगाडीको सदनमा कुरा उठाउँदा सरकारले प्रक्रियामा सामेल गर्ने प्रतिबद्धता जनाए पनि पछि त्यसमाथि प्रतिबन्ध लगाएको उनले बताए ।

यही विवादका कारण कार्य व्यवस्था परामर्श समितिको बैठक समेत अवरुद्ध भएको र आफूहरू बैठकबाट बाहिरिएको उनले जानकारी दिए । ‘यस्तो अपारदर्शी र विवादित पृष्ठभूमिमा तयार भएको बजेटमा हाम्रो स्वामित्व रहँदैन र यसलाई सदनमा पेस गर्न दिइने छैन,’ उनले भने ।

कर्णालीकै स्थानीय अल्लोबाट बनेको बजेटको ब्रिफकेस बोकेर आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह भने प्रदेश सभामा पुगेपनि तर बैठक भने अनिश्चित बनेको छ ।

आज दिउँसो २ बजे बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले भने कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट पारित गरिसकेको छ । बजेट संसद्मा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट पारित भएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।