नौ वर्षदेखि सुर्खेत मेडिकल कलेज स्थापनाकाे काम अन्यौलमै

जैतुन अनलाइन | २०८२ जेष्ठ २४ गते शुक्रवार

जेठ २३,

सुर्खेतः संघीय सरकारले आर्थिक वर्ष ०७३/७४ को बजेटमा सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो। त्यसयता हरेक वर्षको बजेटमा संघीय सरकारले सुर्खेतमा मेडिकल कलेजका लागि बजेट विनियोजन गरिरहन्छ । तर, सरकारी घोषणाअनुसार कर्णालीमा स्थापना हुनुपर्ने सुर्खेत मेडिकल कलेज स्थापनाको प्रक्रिया भने नौ वर्षसम्म पनि अन्यौलमै छ । हरेक वर्षजस्तै यस वर्ष पनि संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुर्खेत मेडिकललाई छुटाएको छैन । यसपटक पनि संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले सुर्खेत मेडिकल कलेजसहित अन्य तीन कलेजका पूर्वाधार निर्माण गर्न ५६ करोड बजेट विनियोजन गरेको घोषणा गरे ।

सरकारले मधेश प्रदेशको महोत्तरीको बर्दिवास, लुम्बिनीको बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने योजना अगाडि सारेको थियो । संघीय सरकारको योजना अनुरुप कर्णाली प्रदेश सरकारले ३ फागुन २०७५ मा मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो ।

सोही अनुसार आयोजना कार्यान्वयन गर्न भन्दै २०७६ जेठ १९ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, मा सुर्खेत मेडिकल कजेल पूर्वाधार निर्माण विकास आयोजना कार्यालय स्थापना गर्नेबाहेक मेडिकल कलेजको थप काम अगाडी बढ्न सकेको छैन । हालसम्म आयोजना बन्ने क्षेत्र वीरेन्द्रनगर नगरपालिका ११ र १३ मा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न गरेको कार्यालय विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न सकेको छैन् ।

सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले चार वर्ष लगाएर आयोजनाको गुरुयोजना निर्माण गरी २०७९ असार २९ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यसम्पन्न प्रतिवेदन पेस गरी सचिवस्तरीय निर्णयबाट स्वीकृत गराएको छ ।

त्यस्तै, पाँच वर्ष लगाएर तयार पारिएको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) २०८० मंशीर २७ गते वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको छ । तर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अझै तयार हुन सकेको छैन । कार्यालयले लामो अवधि लगाएर तयार गरेको डीपीआर नै अस्वीकृत भएको छ । उक्त प्रतिवेदन तयार गर्न चार वर्ष लगाएको कार्यालयले २०८० भदौ २७ गते प्रस्ताव स्वीकृतिका लागि विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरेको थियो । तर २०८० फागुन १३ गतेको सचिवस्तरीय बैठकले प्रस्ताव नै रद्द गरिदिएको थियो ।

प्रतिवेदन स्वीकृतिको उक्त प्रस्ताव रोकिएको कारणबारे कार्यालयलाई जानकारीसमेत छैन । आर्थिक वर्ष २०८०/०८१ मा आयोजनाको डीपीआर निर्माण गर्न संघीय सरकारले चार करोड बढी रकमको व्यवस्थापन गरेको थियो ।

प्रस्ताव रद्द भएसँगै उक्त रकम फ्रिज भएको अवस्था छ । चालु आर्थिक वर्ष ०८१/८२ मा आयोजनाका लागि एक लाख रुपैयाँ मात्र पूँजिगत बजेट छ । यो बजेटले डीपीआर निर्माण गर्न सम्भव छैन । सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका निमित्त प्रमुख भोजप्रसाद लम्सालले कर्मचारी र कार्यालय व्यवस्थापन शिर्षकमा मात्र बजेट आएको बताए । ‘चालु आर्थिक वर्षमा कर्मचारीको तलव र कार्यालय व्यवस्थापनका लागि मात्रै बजेट आएको अवस्था छ,’ उनले भने, ‘पूर्वाधार निर्माण गुनुपूर्वको डीपीआर गर्न चारदेखि पाँच करोडसम्म बजेट आवश्यक पर्छ । तर यो वर्ष पूँजिगत शिर्षकमा एक लाख मात्रै बजेट आएको अवस्था छ ।’
डीपीआर नहुँदा कलेजलाई आवश्यक पर्ने जग्गासमेत प्राप्त हुन सकेको छैन । पूर्वाधार निर्माणको लागि लागत घटाउने उद्देश्यले आयोजनाले हालको प्रदेश अस्पताललाई नै शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न प्रस्ताव गरेको थियो । मेडिकल कलेज सञ्चालन हुनुभन्दा अगाडि तीन वर्षसम्म अस्पताल सञ्चालन भएको हुनुपर्ने भएकाले प्रदेश अस्पताललाई नै प्रयोग गर्दा समय र बजेट बच्ने भन्दै यस्तो प्रस्ताव गरिएको थियो । तर अब भने छुट्टै पुर्वाधार निर्माण गरी मेडिकल कलेज सञ्चालन गर्न सरकारले सहमति प्रदान गरिसकेको छ ।

आर्थिक वर्ष ०७६/७७ मा संघीय सरकारले मेडिकल कलेजका लागि माटो जाँच, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), डीपीआर र गुरुयोजना बनाउनका लागि १० करोड बजेट छुट्याएको थियो । गत आवमा पनि सरकारले मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि २ करोड बजेट छुट्यायो । तर कलेज कहाँ बनाउने भन्ने अन्योलका कारण कार्यालयले रकम खर्च गर्न सकेन ।
पूर्वाधार निर्माणका लागि करिब ८० बिघा जग्गा आवश्यक पर्छ । आयोजनाले कलेजको पूर्वाधारका लागि वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ र १३ को बतासे डाँडामा मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको हो । कार्यालयका अनुसार सामुदायिक वनबाट कलेज निर्माणका लागि जग्गा उपभोग गर्दा कुनै समस्या छैन ।