टाउको दुखाइका बिरामी उद्धार गर्न १२ लाखमा हेलिकोप्टर चार्टर गर्छन माथिल्लो डोल्पा वासी

जैतुन अनलाइन | २०८२ जेष्ठ १७ गते शुक्रवार

जेठ १६,

डोल्पा : शे-फोक्सुन्डो गाउँपालिका-४ नाम्दो बस्ने ५३ वर्षीया सोनामल्हामु लामालाई सामान्य टाउको दुख्ने समस्या थियो। एक साताअघि सोनामलाई टाउको दुख्न सुरु भयो। उनका ६६ वर्षीय श्रीमान् कार्मा पासाङ गुरुङ र छोराछोरीले अघि पछिको जस्तै होला भनेर त्यति धेरै वास्ता गरेनन्।  तर, सोनामको टाउको दुखाइ झन् झन् बढ्न थालेपछि उनीहरू लामा धर्मगुरुले गर्ने उपचार पद्धति आम्ची (तिब्बतीय उपचार पद्धति) मा उपचार गर्न लगे। तर आम्चीमा उपचार गरेर निको भएन। बरू झन् गाह्रो हुने गरी टाउको दुखाइ बढ्न थाल्यो।

बिरामी सोनामको गाउँ नजिकै कुनै अस्पताल छैन। नजिकैको स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने पछि जिल्ला बाहिरनै लैजानुपर्ने भयो । सोनामलाई धेरै गाह्रो भएपछि स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिहरूले उपचार गर्न हेलिकोप्टर चार्टर गरेर काठमाडौँ लैजान सुझाव दिए। तर, त्यो आँट गर्न सक्ने हैसियत परिवारमा थिएन। जनप्रतिनिधिहरूले केही महिनापछि तिर्ने गरी उधारोमा हेलिकोप्टरको व्यवस्था गरिदिए।

सात जनाको परिवार रहेको सोनामको परिवारको कसैको पनि नियमित आम्दानी छैन। शे–फोक्सुन्डो गाउँपालिकाले समन्वय गरिदिएपछि जेठ ९ गते सिम्रिक एयरको हेलिकोप्टर सोनामलाई लिन गाउँ आयो।हेलिकोप्टरले नाम्दोबाट सिधै काठमाडौँ पुर्‍यायो । सोनामको कुरुवाको रूपमा श्रीमान् गएका छन्। सोनामको उपचार अहिले ओम अस्पतालमा भइरहेको छ। ‘डाक्टरले भने अनुसार फुपूको ‘ब्रेन’ सुन्निएको रहेछ, जापनीज इन्सेफ्लाइटीको पनि परीक्षण भएको छ। तर रिपोर्ट आएको छैन,’ आफन्त पेम्मा बुटी गुरुङले भनिन्।

उनका अनुसार ‘अस्पताल ल्याएको केही दिन सुधार भएजस्तो भयो, बीचमा फेरि धेरै गाह्रो भएपछि आइसीयूमा राखेर उपचार भइरहेको छ।’ अस्पतालको आईसीयू सोनामको उपचार चलिरहेको छ, यता परिवारमा सोनामको उपचारको भन्दा पनि हेलिकोप्टरको खर्च कसरी तिर्ने भनेर चिन्ता बढेको छ।

परिवारमा न दिनमा भोक प्यास छ, न निन्द्रानै । सोनामका श्रीमान् कार्मा श्रीमतीको उपचारकालागि अस्पतालबाटै सहयोग मागिरहेका छन्। ओम अस्पतालमा आइसीयूमा राखेर उपचार गर्न महँगो परेकाले अहिले सरकारी अस्पतालमा आइसीयू खोजिरहेको, तर कतै नपाइएको पेम्माले बताइन्। आमा बिरामी भएको थाहा पाएपछि भेट्न २४ वर्षीय छोरी कुन्साङ् बुटी गुरुङ काठमाडौँबाट जेठ ६ गते उपल्लो डोल्पा पुगिन् । आमालाई हेलिकोप्टरबाट उद्धार गर्नु भन्दा तीन दिन अघि मात्र डोल्पा पुगेकी कुन्साङ्लाई आमाले चिन्दै चिनिनन्।

‘आमा बिरामी भएको थाहा पाउने बित्तिकै भेट्नुपर्‍यो भनेर हप्ता दिन लगाएर घर पुगेँ। तर आमाले मलाई चिन्दै चिन्नुभएन, त्यसपछि आमालाई हेलिकोप्टरमा काठमाडौँ उडाइयो,’ कुन्साङ्ले भावुक हुँदै भनिन्, ‘म पनि आमासँगै जान्छु भन्दा हेलिकोप्टरमा सिट छैन भनियो ।’‘उता आमाको स्वास्थ्यमा सुधार भएको छैन, यता हेलिकोप्टरको कार्यालयबाट चार्टर उडान बापतको पचास प्रतिशत रकम भुक्तानीका लागि ताकेता आइरहेको छ, अब के गर्ने ? कसो गर्ने ? सोच्नै सकेको छैन,’ कुन्साङ्ले दुखेसो पोखिन्।

 

सोनामको परिवारको धेरै जग्गाजमिन छैन। घरमा च्याङ्ग्रा छन्। ‘थोरै भएको जमिन र च्याङ्‌ग्रा बेचेर भएपनि हेलिकोप्टरलाइ तिर्ने आधा-आधी रकम जम्मा गर्ने योजना छ, अहिले नै बेचौँ भन्दा पनि कोही किन्न आउँदैनन्, त्यही भएर दुई महिना समय मागेका छौँ, यो अवधिमा जसरी पनि बेचेर तिर्नुपर्ने छ,’ कुन्साङले भनिन्।

पशु चौपाया र जग्गासँगै स्थानीय साहुबाट चर्को ब्याजमा ऋण काढेर भए पनि हेलिकोप्टरको खर्च तिर्ने उनको सोच छ । ‘हेलिकोप्टर भाडासहित उपचार गर्दा लाग्ने खर्च त कसरी जुटाउने होला भनेर रातभरि निन्द्रा लाग्दैन, म डोल्पाको पनि माथिल्लो डोल्पामा छु, मेरो गाउँबाट दुनै पुग्न चार/पाँच दिन पैदल नै हिँड्नुपर्छ, दुनैबाट काठमाडौँ जान दुई दिन बसमै लाग्छ,’ कुन्साङले भनिन्।

बुवा आमा नै काठमाडौँ गएपछि अहिले भाइबहिनीको अभिभावकत्व लिनुका साथै खेतीपाती धानेर बसेकी उनी बुवा आमा फर्केपछि काठमाडौँ जाने सोच बनाएकी छिन् । शे–फोक्सुन्डो गाउँपालिका भित्र उपचार गर्न कालागि अस्पताल छैनन्, स्थानीयवासीले डाक्टर भेट्न पर्‍यो भने पाँच/छ दिन पैदल हिँडेर जिल्ला सदरमुकाम आउनुपर्छ, जटिल बिरामी पर्दा त हेलिकोप्टर चार्टर गरेर उडान गर्नुको कुनै विकल्प छैन,’ स्थानीय नर्स पेमा बुटी गुरुङले गुनासो गरिन् ।

उनी भन्छिन्, ‘हाल काठमाडौँको एक विद्यालयमा विद्यालय नर्सको रूपमा काम गर्छु, म सानै देखि हुर्के बढेको मेरो गाउँमा स्वास्थ्य उपचारको जटिल समस्या छ, हालसम्म पनि सडक पुगेको छैन, सदरमुकाम झर्न ठुला ठुला हिमाल छिचोलेर पाँच/छ दिन हिँड्नुपर्छ ।’ उनका अनुसार सोनाम र उनी नाता पर्छन्।उनले भनिन्, ‘बिरामी सोनाम नाताले मेरो फुपू पर्नुहुन्छ, उहाँको उपचारमा हेलिकोप्टर चार्टर गरेको पैसा तिर्न एउटा सामाजिक सञ्चालनमा अभियान चलाइएको छ। तर, थोरै मात्रामा रकम उठेको छ ।’

नौ हजार हाराहारीमा जनसङ्ख्या रहेको उपल्लो डोल्पामा शे–फोक्सुन्डो, डोल्पो बुद्ध र छार्काताङ्सोङ् गरेर तीन स्थानीय तह छन् । उपल्लो डोल्पाको प्रमुख समस्या भनेकै स्वास्थ्य उपचार नै हो । ‘उपल्लो डोल्पामा उपचार खर्च जुटाउन नसकेर धेरैले अकालमै मृत्युवरण गर्छन्, धेरैका घरजग्गा बेचिएका छन्,’ पेमाले भनिन्।

उनले यहाँ सरकारले माथिल्लो डोल्पाका तीन वटा पालिकालाई लक्षित गरेर पायक पर्ने स्थानमा एउटा सुविधायुक्त अस्पताल निर्माण गरिदिनु माग गरिन्। हिमाली जिल्लाका गर्भवतीको निःशुल्क उद्धार गरिएजस्तै आर्थिक अवस्था कमजोर भएका अति विपन्न नागरिकको निःशुल्क उद्धार गर्ने व्यवस्था सरकारले मिलाइदिएको भए पनि धेरै राहत हुने भनाइ छ।