डाेल्पाकाे मुड्केचुला गाउँपालिकामा”अध्यक्ष कप”खेलकुद प्रतियोगिता सम्पन्न

जैतुन अनलाइन | २०८२ बैशाख ७ गते आइतवार

गाेपिचन्द्र बाेहाेरा,
डाेल्पा : डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिकामा आयोजित ‘अध्यक्ष कप खेलकुद प्रतियोगिता-२०८२’ भव्य रूपमा सम्पन्न भएको छ। नयाँ वर्षको अवसर पारेर गरिएको आयोजना शनिबार सम्पन्न भएको छ । अध्यक्ष कप खेलकुद प्रतियोगिता अवधि भर विभिन्न खेल विधामा रोचक प्रतिस्पर्धा देखिएको थियो ।

गाउँपालिकाको आयोजनामा पहिलो पटक सञ्चालन गरिएको अध्यक्ष कप खेलकुद प्रतियोगितामा पुरुष भलिबल तर्फको उपाधि जाजरकोटको नलगाड नगरपालिका-८ ले जितेको छ। फाइनल खेलमा नलगाड ८ ले सोही नगरपालिकाको १३ नं वडाको भलिबल टिमलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि हात पार्यो।

प्रतियोगितामा विजयी बनेको नलगाड ८ को टोलीले नगद एक लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता नलगाड १३ को टोलीले पचास हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो। त्यस्तै पुरुष फुटबल तर्फको उपाधि मुड्केचुला गाउँपालिका-४ ‘इल’को टिमले जितेको छ । इलको टिमले फाइनल खेलमा गाउँपालिका-९ ‘होर्त’ को टिमलाई पराजित गर्दै उपाधि हाँसिल गरेको हो। विजेता इलले एक लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता होर्तले पचास हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

ब्याडमिन्टनतर्फ पनि कडा प्रतिस्पर्धा देखिएको थियो । पुरुष एकलतर्फ खेम बहादुर रोकाया प्रथम र सागर बुढा द्वितीय भएका छन । यस्तै डबल तर्फ खेम बहादुर रोकाया र नवराज मल्लको जोडीले प्रथम स्थान हासिल गर्दा मिन बहादुर सुनार र मान बहादुर डाँगीको जोडी द्वितीय भएका छन । प्रतियोगिता अन्तर्गत उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष रूपमा सम्मान गरिएको थियो। भलिबल तर्फ नलगाडका चन्द्र परियार उत्कृष्ट स्पाइकर, प्रेम बुढा मगर उत्कृष्ट लिन्नो, सरोज बुढा मगर उत्कृष्ट सेटर र दीपक बस्नेत आयोजनाकै उत्कृष्ट खेलाडी घोषित भएका छन। फुटबलतर्फ उत्कृष्ट गोलरक्षकको उपाधि विशाल बुढाले पाएका छन् भने सबैभन्दा धेरै गोल गर्ने खेलाडी कमल बुढा घोषित भए । यस्तै उत्कृष्ट खेलाडी हरी रोकाया र उदाउँदो खेलाडीको रूपमा रमित शाही पुरस्कृत भएका छन।

खेलकुद प्रतियोगिता चार विधामा सम्पन्न भएकाे मुड्केचुला गाउँपालिका डाेल्पाका प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले जानकारी दिए। वडा स्तरीय र अन्तरजिल्ला स्तरीय खेलकुद प्रतियोगिताले खेलाडीहरु बिच समन्वय संगै सिकाइको माध्यम हुने र नयाँ खेलाडीले अवसर पाउने विश्वास रहेकाे अधिकृत महताराले बताए।  प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास गरिएको रआगामी वर्षहरूमा प्रतियोगिता अझ व्यापक बनाइने मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले प्रतिबद्धता गरेका छन।