
डोल्पा : डोल्पामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न ६ वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकमा भेरी करिडोरका योजना प्रमुख (डीई) नरेश प्रसाद केशरी समेत सहभागी थिए।
बैठकमा भेरी करिडोरअन्तर्गत भइरहेको सडक निर्माण तथा विपद्का कारण सडक आवागमनमा देखिएका समस्याबारे समेत छलफल भएको छ। सहभागी अधिकांशले भेरी करिडोरको कार्यालय डोल्पामै राख्नुपर्ने धारणा राखेका छन्। राजनीतिक दल, नागरिक समाज र उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले समेत एउटै मागका रूपमा कार्यालय डोल्पामै स्थापना गर्नुपर्ने विषय उठाएका छन्।
भेरी करिडोरका योजना प्रमुखले पछिल्लो पाँच महिनामा भएका कामको प्रगति विवरण बैठकमा प्रस्तुत गर्दै आगामी दिनमा काममा हेलचेक्र्याइँ हुन नदिने प्रतिबद्धता जनाएका छन्। स्थानीय तह र राजनीतिक दलले आवश्यक सहयोग र समन्वय गरेमा निर्माण व्यवसायी तथा ठेकेदारलाई रफ्तारमा काम गराउन आफूहरूले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो।

बैठकले समग्र जिल्लाको विपद् व्यवस्थापनका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (DPRP) जिल्ला विपद् व्यवस्थापन समितिबाट पारित गर्ने निर्णय गरेको छ। त्यस्तै, जिल्लाको मनसुनजन्य विपद् व्यवस्थापनका लागि गठन गरिएको जिल्ला विपद् कमाण्ड पोस्टको सदस्यता संशोधन गर्ने निर्णय गरिएको छ। संग्राम शार्दूल गुल्मका गुल्मपति सरुवा भई आएपछि उहाँको स्थानमा सेनानी नरेश बिष्ट र सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म हेडक्वार्टरका गुल्मपतिको स्थानमा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद रायलाई नयाँ सदस्यका रूपमा राख्ने निर्णय गरिएको हो।
गत २०८३/०४/१२ गते राति ४:०२ बजे गएको भूकम्पबाट क्षति भएका संरचना तथा वर्षाका कारण क्षति पुगेका संरचनासम्बन्धी कार्यालयमा प्राप्त निवेदनमाथि पनि बैठकमा छलफल भएको छ। क्षतिको विवरण तथा प्राप्त निवेदनका आधारमा राहत उपलब्ध गराउने विषयमा आवश्यक प्रक्रिया अघि बढाउनेबारे छलफल गरिएको छ।

बैठकले भेरी करिडोर सडक आयोजनाअन्तर्गतका सडकमा विपद्का कारण हुने आवतजावतसम्बन्धी समस्या, गुनासा तथा सुझाव आयोजनाका योजना प्रमुखसमक्ष राखेर आवश्यक छलफल गरेको छ। सडक अवरुद्ध हुने अवस्था, आवागमनमा देखिएका समस्या तथा तत्काल गर्नुपर्ने व्यवस्थापनबारे समेत बैठकमा ध्यानाकर्षण गराइएको छ।
विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन तीनै तहका सरकारी निकायबीच आवश्यक समन्वय र सञ्चारलाई प्रभावकारी बनाउने निर्णयसमेत बैठकले गरेको छ। यसैगरी, संग्राम शार्दूल गुल्मले स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रत्येक महिना एकदिने सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गर्ने योजना बनाएको छ। उक्त तालिम सञ्चालनका लागि आवश्यक समन्वय तथा सहयोग गर्ने निर्णय बैठकले गरेको छ।
बैठकमा उठेको साझा माग भने भेरी करिडोरको कार्यालय डोल्पामै स्थापना गरी सडक निर्माण, अनुगमन, मर्मत तथा विपद् प्रतिकार्यका कामलाई जिल्लाबाटै प्रभावकारी रूपमा अघि बढाउनुपर्ने रहेको छ।