घट्दै राउटेको संख्याः ६५ वर्षीया महिलाको मृत्युपछि १ सय ३२ मा

साझा कर्णाली | २०८३ साउन २२ गते शुक्रवार


श्रावण २२,
सुर्खेतः लोपोन्मुख राउटे समुदायकी ६५ वर्षीया फलाटो शाहीको मृत्यु भएपछि समुदायको जनसंख्या घटेर १ सय ३२ मा झरेको छ । राउटे समुदायका मुखियामध्येका एक प्रकाश शाहीकी आमा फलाटोको बिहीवार बिहान मृत्यु भएको हो ।

दीर्घरोगबाट पीडित फलाटो नियमित औषधी सेवन गरिरहेकी थिइन् । साउने संक्रान्तिको अवसरमा अत्यधिक मदिरा सेवनसमेत गरेकी उनको बिहीवार बिहान करिब २ बजेतिर मृत्यु भएको राउटे परियोजनाका कर्मचारी लालबहादुर केसीले बताए ।

‘औषधी सेवन गरिरहेकी थिइन् । अहिले साउने संक्रान्तिको अवसरमा अत्यधिक मदिरा सेवन पनि भएको थियो । बिहीवार बिहान २ बजेतिर मृत्यु भयो । यसअघि पनि स–साना स्वास्थ्य समस्या आइरहन्थे,’ केसीले भने ।

फलाटोको मृत्युसँगै राउटे समुदायको जनसंख्या एक सय ३२ मा झरेको हो । गत वर्ष साउनमा राउटे समुदायको जनसंख्या एक सय ३५ थियो । अहिले उनीहरू पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–९, खानीखोलामा बस्दै आएका छन् ।

फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायमा स्वास्थ्य उपचारको पहुँच कमजोर हुँदा विभिन्न रोगका कारण ज्यान गुमाउने क्रम रोकिएको छैन । समुदायमा अत्यधिक मदिरा सेवन पनि मृत्युको प्रमुख जोखिमका रूपमा देखिँदै आएको छ ।

काठ र कपडाको पालमुनि चिसो भुइँमा रात बिताउने राउटे समुदायका महिला, बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या देखिने गरेको छ । बाह्य समुदायसँगको सम्पर्क सीमित राख्दै आएका उनीहरू उपचार र अन्य सेवाका लागि गैरराउटे समुदायमा निर्भर हुनुपर्ने अवस्था छ ।

राउटे समुदायको जनसंख्या निरन्तर घट्दै गएपछि कर्णाली प्रदेश सरकारले संरक्षणका लागि एकीकृत नीति निर्माण गरेको छ । प्रदेश सरकारले ‘लोपोन्मुख राउटे समुदायको मूलप्रवाहीकरण नीति–२०८३’ तयार गरेको हो ।

नीति बने पनि यसको कार्यान्वयन भने प्रभावकारी हुन नसकेको भन्दै प्रश्न उठ्दै आएको छ । प्रदेश सरकारले भने चालु आर्थिक वर्षदेखि नीति कार्यान्वयनमा लैजाने जनाएको छ ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख सुवर्ण खड्काका अनुसार राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले एकीकृत नीति निर्माण गरिएको हो । गैरराउटे समुदायबाट राउटेमाथि असुरक्षा बढ्दै गएको अवस्थामा उनीहरूको कला, संस्कृति र मौलिकता जोगाउँदै सामाजिकीकरण गर्ने तथा सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्य नीतिको रहेको उनले बताए ।

पछिल्लो समय राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेपसमेत बढेको छ । यसले उनीहरूको सुरक्षा र मौलिक पहिचानमा चुनौती थपेको छ । केही समयअघि दुई जना राउटे युवतीमाथि गैरराउटे समुदायका युवाले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि समुदायको सुरक्षा विषय थप गम्भीर बनेको थियो ।

प्रदेश सरकारले तयार गरेको नीतिमा राउटे समुदायको मौलिकता र संस्कृतिलाई संरक्षण गर्दै शिक्षा, नागरिकता, स्थायी बसोबास र सामाजिक सुरक्षालगायतका विषय समेटिएका छन् । घुम्ती तथा खेलको माध्यमबाट शिक्षण सिकाइका गतिविधि सञ्चालन गर्ने, राउटे भाषालाई लिपिबद्ध गर्ने तथा उनीहरूको संस्कृतिको संरक्षण गर्ने नीति लिइएको छ ।

फिरन्ते जीवनशैलीका कारण शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवामा पहुँच पुर्‍याउन कठिनाइ भइरहेको भन्दै सरकारले स्थायी बसोबासको अवधारणासमेत अघि सारेको छ । नीतिमा राउटे समुदायले घर निर्माणका लागि प्रयोग गर्दै आएको पाललाई रूपान्तरण गरी स्थायी घर निर्माण गर्ने उल्लेख छ ।

‘फिरन्ते जीवनयापन गरिरहेका राउटे समुदायले गर्ने बसाइँसराइँलाई रोक्नका लागि स्थायी बसोबास आवश्यक छ,’ नीतिमा भनिएको छ ।

नागरिकताविहीन अवस्थामा समेत सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका राउटे समुदायका नागरिकलाई अब नागरिकता वितरण गर्ने नीति सरकारले लिएको छ । उमेर पुगेका राउटे समुदायका नागरिकलाई तत्काल नागरिकता वितरण गर्ने नीति दस्तावेजमा उल्लेख छ ।

तीन वर्षअघि गुर्भाकोट नगरपालिका–८ को ठेगाना राखेर राउटे समुदायका सदस्यलाई अस्थायी परिचयपत्र उपलब्ध गराइएको थियो । अब भने उनीहरूलाई नागरिकता नै वितरण गर्ने सरकारको तयारी छ ।

एकातिर राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले नीति निर्माण भइरहेको छ भने अर्कोतर्फ समुदायको जनसंख्या भने वर्षेनी घटिरहेको छ । स्वास्थ्य उपचारको अभाव, अत्यधिक मदिरा सेवन, कमजोर आवास र बाह्य समुदायबाट बढ्दो असुरक्षाका कारण राउटे समुदायको अस्तित्व र मौलिक पहिचान संरक्षण थप चुनौतीपूर्ण बन्दै गएको छ ।