भोटेकोशी बाढीपछि ओझेलमा रिसाङका बाढीपीडित

साझा कर्णाली | २०८३ भाद्र १९ गते शुक्रवार


भदौ १९,

जाजरकोटः भेरी नगरपालिका–२ रिसाङका पहिरोपीडित परिवार अहिले राहतभन्दा पनि सुरक्षित बासको पर्खाइमा छन् । साउन ३० गतेको बाढीपहिरोले घर, खेतबारी र अस्थायी टहरा समेत बगाएपछि सयौँ परिवारको दैनिकी टेन्टमै बितिरहेको छ । बर्खा सकिएको छैन, तर उनीहरूको दुःख कहिले सकिन्छ भन्ने टुंगो छैन ।

पहिरो गएको लामो समय बितिसक्दा पनि प्रभावित परिवारले स्थायी आवास पाउन सकेका छैनन् । वर्षाको पानी, चिसो र सर्पको जोखिमबीच टेन्टमा बस्नुपर्दा उनीहरूलाई हरेक दिन असुरक्षित महसुस भइरहेको छ । विशेषगरी बालबालिका बिरामी पर्न थालेपछि अभिभावकको चिन्ता झनै बढेको छ ।

रिसाङकी ६३ वर्षीया कालिका वलीलाई अहिले अर्को कुराले पनि पिरोल्न थालेको छ । भदौ १० गते भोटेकोशी क्षेत्रमा ठूलो बाढी आएपछि राज्यको ध्यान रसुवातर्फ केन्द्रित भएको छ । त्यसले आफ्नो गाउँको विपद् र पीडा ओझेलमा पर्ने हो कि भन्ने डर उनलाई छ ।

‘रसुवामा ठूलो बाढी आएपछि सरकारको ध्यान त्यतै गएको छ । अब हाम्रो अवस्था सरकारले सम्झिन्छ कि सम्झिँदैन भन्ने चिन्ता लागेको छ,’ वलीले भनिन् ।

टेन्टभित्रको बसाइ उनका लागि सहज छैन । पानी पर्दा टेन्टभित्र पानी पस्ने र चिसो बढ्ने समस्या त छँदैछ, कहिलेकाहीँ सर्पसमेत आउने गरेको उनी बताउँछिन् ।

‘बर्खामा टेन्टमा बस्नु निकै गाह्रो छ । बसेकै ठाउँमा सर्प आउने डर हुन्छ । सरकारले नयाँ घर बनाइदिन्छ भन्ने आशा छ । तर त्यो कहिले पूरा हुन्छ भन्ने थाहा छैन,’ उनले भनिन् ।

पहिरोले घर गुमाएका परिवारको समस्या आवासमा मात्र सीमित छैन । खेतबारीसमेत बगेपछि उनीहरूको आम्दानीको आधार पनि खोसिएको छ । भूकम्पपछि बनाइएका अस्थायी टहरामा जसोतसो बस्दै आएका परिवारलाई पहिरोले फेरि विस्थापित बनाएको छ ।

पहिरोपीडित जानुका विकको परिवारले पनि यही पीडा भोगिरहेको छ । भूकम्पले पुरानो घर क्षतिग्रस्त भएपछि बनाइएको अस्थायी टहरासमेत पहिरोले बगाएपछि अहिले टेन्ट नै उनीहरूको आश्रय बनेको छ ।

‘भूकम्पपछि बनाएको टहरासमेत पहिरोले बगायो । अहिले टेन्टमा बसिरहेका छौँ । बालबालिका बिरामी पर्न थालेका छन् । अझै कति समय यसरी बस्नुपर्ने हो भन्ने थाहा छैन,’ विकले भनिन् ।

उनका अनुसार वर्षायाममा टेन्टमा बस्नुपर्ने बाध्यता अन्त्य गरी सरकारले स्थायी आवासको व्यवस्था गर्नुपर्छ । ‘सरकारले सुरक्षित ठाउँमा घर बनाइदिए हामीलाई ठूलो राहत हुन्थ्यो,’ उनले भनिन् ।

रिसाङकी कली कामीको अवस्था पनि उस्तै छ । पहिरोले घरसँगै घरबारीसमेत बगाएपछि उनी अहिले अस्थायी आश्रयमा बसिरहेकी छन् । लामो समयसम्म टहरामा बसेर गुजारा चलाउँदै आएका परिवारलाई पहिरोले फेरि शून्यमा पुर्‍याएको उनको भनाइ छ ।

‘पहिले टहरामै भए पनि बस्ने ठाउँ थियो । पहिरो आएपछि घरबारी सबै बग्यो । अहिले टेन्टमा बस्नुपरेको छ । सरकारको ध्यान अहिले रसुवातिर छ । हाम्रो समस्या पनि सरकारले सुन्छ कि सुन्दैन भन्ने चिन्ता लागेको छ,’ कामीले भनिन् ।

रिसाङमा साउन ३० गतेको बाढीपहिरोबाट करिब ३ सय परिवार प्रभावित भएका थिए । त्यसमध्ये १२ परिवार पूर्ण रूपमा घरबारविहीन भएका छन् । विपद्मा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा थप एक जनाको मृत्यु भएको थियो । घटनामा ११ जना घाइते भएका थिए ।

तर यी संख्या आफैँमा रिसाङका परिवारले भोगेको पीडाको पूर्ण चित्र होइनन् । घर गुमाएका परिवारका लागि राहत सामग्री केही समयको सहारा मात्र बन्न सक्छ । उनीहरूलाई अहिले सुरक्षित बसोबास, नियमित स्वास्थ्य सेवा र दीर्घकालीन पुनर्स्थापनाको आवश्यकता छ ।

वर्षायाम अझै बाँकी रहेकाले टेन्टमा बसिरहेका परिवारलाई तत्काल जोखिममुक्त स्थानमा सार्नुपर्ने स्थानीयको माग छ । त्यससँगै खाद्यान्न, औषधि, बालबालिकाका लागि आवश्यक स्वास्थ्य तथा पोषण सहयोग र स्थायी आवासको व्यवस्था गर्नुपर्ने उनीहरू बताउँछन् ।

रिसाङका पहिरोपीडितहरू रसुवामा भएको विपद्प्रति सरकारले देखाएको चासोको विरोधमा छैनन् । उनीहरूको चाहना यति मात्र हो– राज्यको नजर उनीहरूमाथि पनि परोस् ।

उनीहरूका लागि विपद्को ठाउँ फरक भए पनि पीडा एउटै छ । घर गुमाउनुको दुःख, असुरक्षित ठाउँमा रात बिताउनुपर्ने बाध्यता र बालबालिकाको भविष्यप्रतिको चिन्ता सबैको समान छ ।

त्यसैले अहिले रिसाङका अस्थायी टेन्टभित्र बसिरहेका परिवारको एउटै प्रश्न छ– विपद्को खबर ठूलो भएपछि मात्र सरकारको नजर पुग्ने हो कि, हाम्रो पीडा पनि राज्यको प्राथमिकतामा पर्छ ?’