हिल्सा नाकामा अस्थायी क्वारेन्टिन बन्ने

साझा कर्णाली | २०८३ भाद्र १३ गते शनिवार

भदौ १३,

सुर्खेत: नेपाल–चीन सीमा नाका हिल्सामा लामो समयदेखि उठ्दै आएको क्वारेन्टिन स्थापनाको माग तत्कालका लागि सम्बोधन हुने भएको छ । जनशक्ति अभावका कारण स्थायी संरचना सञ्चालन गर्न नसकिएको अवस्थामा सरकारले नाका सञ्चालन हुने समयलाई लक्षित गरी अस्थायी क्वारेन्टिन सेवा सुरु गर्ने तयारी गरेको हो ।

पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार हिल्सा नाकाबाट हुने आयात–निर्यातको अवस्था हेरेर क्वारेन्टिन सेवा सञ्चालनमा ल्याउन लागिएको हो । नाका सञ्चालन भएको अवधिमा नेपालगन्जबाट कर्मचारी हिल्सा पठाएर सेवा दिने तयारी विभागले गरेको छ ।

दाहालका अनुसार हालै मात्र कर्मचारी संरचना स्वीकृत भएकाले हिल्सामै तत्कालै स्थायी कार्यालय स्थापना गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्न सम्भव देखिएको छैन । त्यसैले नेपालगन्जमा शाखा स्थापना गरेर त्यहीँबाट हिल्सा नाकाको क्वारेन्टिन सेवा व्यवस्थापन गर्ने योजना बनाइएको हो ।

हिल्सामा क्वारेन्टिन सेवा दिन नेपालगन्जबाट बढीमा दुई जना कर्मचारी खटाइनेछन् । नाका खुलेपछि कर्मचारी हिल्सा पुग्नेछन् र नाका बन्द भएपछि उनीहरूलाई नेपालगन्जमै फर्काइनेछ । सोहीअनुसार क्वारेन्टिन सेवा पनि नाका सञ्चालनको अवधिसम्म मात्रै रहनेछ ।

हिल्सा नाकामा क्वारेन्टिन स्थापना गर्न हुम्लावासीले लामो समयदेखि माग गर्दै आएका थिए । चीनसँगको व्यापारका लागि महत्वपूर्ण नाका भए पनि नेपालतर्फ क्वारेन्टिनको व्यवस्था नहुँदा हुम्लामा उत्पादन भएका कृषि तथा पशुजन्य वस्तु चीन पठाउन समस्या हुँदै आएको थियो ।

विशेषगरी रैथाने बाली, फलफूल, जडीबुटी तथा अन्य स्थानीय उत्पादन चीनको बजारसम्म पुर्‍याउन क्वारेन्टिन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर हिल्सामै आवश्यक परीक्षण र प्रमाणीकरणको व्यवस्था नहुँदा स्थानीय उत्पादनको नियमित निर्यात हुन सकेको थिएन ।

कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुणामणि पन्तले अस्थायी भए पनि क्वारेन्टिन सञ्चालनको तयारी हुनु सकारात्मक भएको बताए । उनका अनुसार यसले हुम्लाका स्थानीय उत्पादनलाई चीनसम्म पुर्‍याउने सम्भावना बढाउनेछ ।

पन्तका अनुसार क्वारेन्टिन सेवा सुरु भएपछि हिल्सा नाकाबाट हुने निर्यातको वास्तविक अवस्था पनि बुझ्न सकिनेछ । व्यापारिक गतिविधि बढ्दै गएमा त्यसैका आधारमा हिल्सामै स्थायी क्वारेन्टिन कार्यालय र आवश्यक जनशक्ति व्यवस्थापनका लागि सरकारलाई निर्णय लिन सहज हुने उनको भनाइ छ ।

हाल हिल्सा नाकाबाट चीनबाट नेपालतर्फ विभिन्न वस्तु आयात हुँदै आए पनि नेपालबाट चीनतर्फ स्थानीय उत्पादनको निर्यात भने सीमित छ । कृषि तथा पशुजन्य वस्तु निर्यात गर्दा स्वास्थ्य तथा गुणस्तर परीक्षण र आवश्यक क्वारेन्टिन प्रक्रिया पूरा गर्नुपर्ने भएकाले स्थानीय उत्पादनले बजार पाउन सकेको छैन ।

अस्थायी क्वारेन्टिन सञ्चालनमा आएपछि किसान तथा व्यवसायीले उत्पादन गरेका वस्तुको आवश्यक परीक्षण र प्रमाणीकरण हिल्सामै गर्न सकिने अपेक्षा गरिएको छ । यसले स्थानीय उत्पादनको निर्यात प्रक्रिया छोट्याउनुका साथै हुम्लाका किसान तथा व्यवसायीलाई चिनियाँ बजारसँग जोड्न सहयोग पुग्ने सरोकारवालाको विश्वास छ ।

हिल्सा नाका वर्षभरि नियमित सञ्चालन नहुने भएकाले तत्कालका लागि स्थायी संरचनाभन्दा नाका खुलेको अवधिमा मात्रै सेवा दिने व्यवस्था गरिएको विभागले जनाएको छ । यसबाट सीमित जनशक्तिलाई आवश्यकता परेको समयमा परिचालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

हिल्सामा क्वारेन्टिन स्थापना गर्न हुम्लावासीले विसं २०७० देखि नै माग गर्दै आएका थिए । करिब १३ वर्षपछि भए पनि अस्थायी रूपमा सेवा सञ्चालनको तयारी अघि बढेपछि स्थानीय उत्पादनको निर्यातका लागि नयाँ सम्भावना खुलेको छ ।

सरकारले हिल्सा नाकाको व्यापारिक सम्भावना विस्तार गर्ने योजना अघि बढाइरहेका बेला क्वारेन्टिन सेवा सञ्चालनको तयारी भएको हो । अहिलेको अस्थायी व्यवस्थाले नाकाको व्यापारिक गतिविधि र निर्यातको चाप बुझ्न सहयोग गर्ने र त्यसैका आधारमा भविष्यमा स्थायी क्वारेन्टिन स्थापनाको बाटो खुल्ने अपेक्षा गरिएको छ ।