कर्णाली प्रदेश सरकारले गर्‍यो यातायात नियमावली स्वीकृत, दुई सडक राष्ट्रिय प्राथमिकतामा सिफारिस

जैतुन अनलाइन | २०८३ बैशाख ८ गते मङ्गलवार

सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार मंगलबार बिहान बसेको बैठकले प्रदेशस्तरका पूर्वाधार आयोजनालाई संघीय तहमा प्राथमिकता दिलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

सुर्खेत : कर्णाली प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नयाँ नियमावली स्वीकृत गरेको छ । मंगलबार बिहान वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद्‌ बैठकले ‘कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले कालिकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकताको आयोजनामा समावेश गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय पनि गरेको छ । यस्तै, जाजरकोटको वडावन–सानाखोला सडकलाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा राखी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न आयोगमा सिफारिस गर्ने निर्णय भएको छ ।

सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार मंगलबार बिहान बसेको बैठकले प्रदेशस्तरका पूर्वाधार आयोजनालाई संघीय तहमा प्राथमिकता दिलाउन सिफारिस गर्ने निर्णय गरेको हो । सडक नियमावलीको स्वीकृतिसँगै प्रदेशमा यातायात क्षेत्रको कानुनी जटिलतासमेत अन्त्य हुने विश्वास लिइएको छ ।