ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चको परमादेश

जैतुन अनलाइन | २०८२ चैत्र २३ गते सोमवार

काठमाण्डौ : सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म्याद थपेर हिरासतमा नराख्न आदेश दिएको छ। सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ। तर परमादेश जारी गर्दै तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न भनेको हो।

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ । न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । तर सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको छ

सर्वोच्चले भनेको छ, ` ओली र लेखकलाई फौजदारी कार्यविधी सहिताको प्रक्रिया पूरा गरि हिरासतमुक्त गरि थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरि जे जो गर्नू गराउनु ।´ भदौ २३ को जेनजी आन्दोलनमा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको आरोपमा १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए । प्रहरीले ज्यान मुद्दाको कसुरमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा थुनामा राख्दै आएको छ ।