डा. दिनेश शाहीद्वारा सिंहदरबार पुनर्निर्माण अभियानमा पाँच लाख सहयोग

जैतुन अनलाइन | २०८२ असोज १ गते बुधवार

असोज १,

काठमाडौं: भ्रष्टाचार विरुद्धको जेन-जी आन्दोलनका बेला जलाईएका सिंहदरबारसहितका सार्वजनिक सम्पत्तिहरू पुनर्निर्माणका लागि सुरु गरिएको “हाम्रो सिंहदरबार, हामी बनाउँछौं” अभियानमा उल्लेखनीय सहयोग प्राप्त भएको छ।

एन्टी करप्शन नेटवर्क (एसीएन) द्वारा सञ्चालनमा आएको यो अभियानालाई योगदान स्पेश फोर के टेलिभिजनका अध्यक्ष तथा मिस्टर होल्डिङ कम्पनी टोकियोका संस्थापक डा. दिनेश शाहीले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

डा. शाहीले सहयोग हस्तान्तरण गर्दै जेन-जीको जागरणले देखाएको परिवर्तनको चाहना नेपाललाई सुशासन र समृद्धितर्फ अघि बढाउने ऊर्जा भएकाे बताए । उनले यो अभियानले राष्ट्रिय सम्पत्तिप्रतिको जिम्मेवारी र एकताको सन्देश फैलाएको उल्लेख गरे ।

एसिएनका पदाधिकारीहरूले डा. शाहीको योगदानप्रति आभार व्यक्त गर्दै  उनको योगदानले आम नेपालीहरूमा अझै सहयोगको भावना जागृत गरेको बताए ।

अभियान अन्तर्गत नबिल बैंकमा खाता नम्बर ०३१०१०१७५०२४२१ मार्फत वा एसिएनको आधिकारिक वेबसाइट www.acn-nepal.com
मार्फत सहयोग गर्न सकिन्छ। संकलित सम्पूर्ण रकम पारदर्शी रूपमा वेबसाइटमा प्रकाशित गरिने एसिएनले जनाएको छ।

यो पहलले जेनजी आन्दोलनको भावना जोगाउँदै भ्रष्टाचारमुक्त, सुशासनयुक्त र समृद्ध नेपालको निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वधार तथा यातायात र सहकारी विकासमन्त्री कुलमान घिसिङले पनि सिंहदरबारसहित सरकारी संरचना नेपालीबाटै सहयोग संकलन गरेर पुनर्निर्माण गरिने बताएका छन्।

घिसिङको सचिवालयले यसका लागि घिसिङले सहरी विकास मन्त्रालयमार्फत संरचनागत क्षतिको यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जानकारी दिएको छ।

यसका लागि घिसिङले मन्त्री भएकै दिन ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत् घोषणा गरिसकेका छन्। घिसिङले सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण गर्न अर्थमन्त्रालयलाई छुट्टै खाता सञ्चालनमा ल्याउन आग्रह गरिएको र खाता खोल्नेकाम प्रक्रियामा रहेको बताए।