पाँच वर्षमा सुर्खेतमा सात हजारभन्दा बढीमा डेंगी संक्रमण, वीरेन्द्रनगर सबैभन्दा जोखिममा

जैतुन अनलाइन | २०८३ साउन ७ गते बिहिवार


श्रावण ७

सुर्खेतः पछिल्ला पाँच आर्थिक वर्षमा सुर्खेतमा सात हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि २०८२/०८३ सम्म ४९ हजार ८११ जनाको परीक्षण गर्दा सात हजार १७८ जनामा डेंगी संक्रमण देखिएको हो।

जिल्लाका नौ स्थानीय तहमध्ये प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका सबैभन्दा बढी प्रभावित बनेको छ। गत आर्थिक वर्ष २०८२/०८३ मा मात्रै वीरेन्द्रनगरका एक हजार ९२३ जनामा डेंगी संक्रमण पुष्टि भएको जनस्वास्थ्य सेवा कार्यालयको तथ्यांक छ। बढ्दो सहरीकरण, जनघनत्व र पानी जम्ने स्थान बढ्दै जाँदा वीरेन्द्रनगरमा डेंगीको जोखिम उच्च बनेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ मलेरिया निरीक्षक उदय विसीले परीक्षणको पहुँच विस्तार भएसँगै वास्तविक संक्रमितको पहिचान पनि बढेको बताए।

‘सरकारी र निजी दुवै स्वास्थ्य संस्थामा परीक्षण सेवा सहज भएकाले अहिले संक्रमण पुष्टि हुने संख्या पनि बढेको देखिएको छ,’ उनले भने।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा एक हजार ५३० जनाको परीक्षण गर्दा ९९६ जनामा संक्रमण पुष्टि भएको थियो। २०७९/०८० मा आठ हजार ४१६ जनाको परीक्षण गर्दा एक हजार ४८४ जनामा संक्रमण देखियो।

आर्थिक वर्ष २०८०/०८१ मा आठ हजार ९५२ जनाको परीक्षण गर्दा ५७१ जनामा संक्रमण पुष्टि भए पनि त्यसपछिका दुई वर्षमा संक्रमण फेरि बढेको छ। आर्थिक वर्ष २०८१/०८२ मा १६ हजार ३१६ जनामध्ये एक हजार ९१८ र गत आर्थिक वर्ष २०८२/०८३ मा १४ हजार ५९७ जनाको परीक्षण गर्दा दुई हजार २०७ जनामा संक्रमण पुष्टि भएको विसीले जानकारी दिए।

उनका अनुसार डेंगी संक्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। संक्रमित लामखुट्टेले टोकेपछि सामान्यतया चारदेखि सात दिनभित्र उच्च ज्वरो, टाउको तथा आँखाको गेडी दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, शरीरमा डाबर आउने तथा पेटसम्बन्धी समस्या देखिन सक्छ।

विसीका अनुसार एक पटक कुनै एक प्रकारको डेंगी भाइरसबाट संक्रमित भएपछि सोही प्रकारबाट पुनः संक्रमण हुँदैन। तर अर्को प्रकारको भाइरसबाट संक्रमण हुन सक्छ, जुन अझ जटिल हुनसक्ने भएकाले लक्षण देखिनेबित्तिकै स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउनुपर्ने उनले बताए।

उनका अनुसार साउनदेखि असोजसम्मको अवधि डेंगी संक्रमणका दृष्टिले सबैभन्दा जोखिमपूर्ण मानिन्छ। यही अवधिलाई लक्षित गर्दै डेंगी सचेतना महिना मनाइरहेको कार्यालयले जनाएको छ।

कार्यालयले स्वास्थ्य संस्थामा परीक्षण किट उपलब्ध गराउने, स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गर्ने, समुदायस्तरमा जनचेतना फैलाउने तथा स्थानीय तहसँगको समन्वयमा ’सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरिरहेको जनाएको छ। अभियानअन्तर्गत लामखुट्टेले फूल पार्ने र हुर्किने सम्भावित स्थानको खोजी गरी नष्ट गर्ने, सरसफाइ तथा समुदायमा सचेतना फैलाउने काम भइरहेको छ।

डेंगीसँगै सुर्खेतमा अन्य किटजन्य रोगको जोखिम पनि कायमै छ। कार्यालयका अनुसार पाँच वर्षमा २६ हजार ६९३ जनामा स्क्रब टाइफस परीक्षण गर्दा एक हजार ८७५ जनामा संक्रमण पुष्टि भएको छ। यसै अवधिमा ८३ हजार ५०५ जनामा मेलेरिया परीक्षण गर्दा १४५ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, नौ हजार ६७४ जनामा कालाजार परीक्षण गर्दा २३३ जनामा रोग पुष्टि भएको छ। पाँच वर्षमा ७३ हजार ३७ जनामा औलो परीक्षण गर्दा १०८ जनामा संक्रमण देखिएको कार्यालयको तथ्यांक छ।

विसीले घर तथा कार्यालय वरपर पानी जम्न नदिने, पानी संकलन हुने भाँडा नियमित सफा गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने र ज्वरो आएमा आफैं औषधि सेवन नगरी स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन सबैलाई आग्रह गरे।