कर्णालीको बजेट सर्वसम्मत पारित

जैतुन अनलाइन | २०८२ असार २१ गते शनिवार

असार २१,

सुर्खेतः बजेट प्रस्तुतअघिदेखि छलफलसम्म निकै आलोचना खेपेको कर्णाली प्रदेश सरकारको बजेट अन्ततः सर्वसम्मतले पारित भएको छ । प्रदेश सरकारले असार १५ गते मध्य राति ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट शुक्रबार प्रदेशसभा बैठकबाट बजेट पारित भएको हो ।

जलस्रोत तथा उर्जा विकास मन्त्रालयअन्तर्गत अर्थ वित्तीय व्यवस्थामा विनियोजित ११ करोड ५० लाख रकमलाई विभिन्न योजनाहरुमा विनियोजन गरी कार्यान्वयन गर्न प्रदेशसभामा विशेष प्रस्ताव पेस गरिएको थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । उक्त प्रस्तावमा हुन्न भन्ने आवाज नसुनिएपछि बजेट सर्वसम्मतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गरिन् ।

प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको थियो । जसमा चालूतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक हजार र पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार थियो ।